काठमाडौं । हरेक दिन जमलको आकाशे पुलमा एक वृद्ध बस्छन् । उनका दुई हात, दुई खुट्टा छैनन् । उनमा सास छ, तर जीवन छैन । ठ्याक्कै ठुटे मुडाजस्तै लम्पसार लडिरहेका हुन्छन् । आफ्नो दयनीय अवस्था देखाएर माग्न बसेका ती वृद्धका आँखा कसैले दुईचार पैसा दिइहाल्छ कि भन्ने आशमा डुलिरहन्छ ।
त्यसो त यहाँ मात्र होइन, राजधानीका अन्य स्थानमा पनि माग्नेहरु भेटिन्छन् ।

त्यस्तै कोही आफ्नो प्रतिभा देखाएर माग्न बस्ने पनि भेटिन्छन् ।
रत्नपार्कको फुटपाथमा एक दृष्टिविहीन युवक आफ्नो सुमधुर आवाजलाई प्रयोग गरेर माग्न बसेका हुन्छन् । यसरी मागेकै पैसाले आफ्नो दैनिकी राम्रैसँग चलाइरहेका छन् उनले । उनको साथमा एक महिला पनि हुन्छिन,उनलाई साथ दिन ।

दुई हात, दुई खुट्टामा पट्टि बाँधेर एक वृद्ध नयाँ बसपार्कको छेउमा बस्छन् । हरेक दिन उनको एउटै पोशाक हुन्छ । सेतो कमिज, धोती र शरीर ढाक्न पहेँलो साधारण कपडा । घाम झुल्किए देखि नअस्ताउन्जेल एकै ठाउँमा बस्छन् । वैशाखी छ तर उनी हिँड्न सक्दैनन् । उनको साथमा एक बोतल पानी, एउटा सानो कालो झोला र अगाडि एउटा कुच्चिएको कचौरा बाहेक केही हुँदैन ।

२०७५ साल भदौ १ गतेबाट लागू भएको मुलुकी अपराध (संहिता) ऐनमा भिक्षा माग्न वा माग्न लाउन नपाइने उल्लेख गरिएको छ । ऐनको दफा १२६ मा भनिएको छ ‘कसैले कुनै सार्वजनिक स्थानमा भिक्षा माग्न वा बालबालिकालाई गीत गाउने, नाँच्ने, खेल्ने वा कुनै काम गर्ने बाहनामा वा अन्य व्यक्तिलाई कुनै प्रकारको रकम वा ज्याला दिइ भिक्षा माग्न वा भिक्षा माग्न दुरुत्साहन दिनुहुँदैन ।’
तर टन्टलापुर घाममा स-साना बच्चाहरुलाई बाटोमा माग्न लगाउने पनि प्रशस्त छन् । बाटोमा हिँडिरहेका बेला भनिरहेका हुन्छन् – 'दाइ पाँच रुपैयाँ, दिदी दस रुपैयाँ दिनू न ।'
कानूनमा भने सार्वजनिक स्थल भनेर सडक, गल्ली, पार्क, बसपार्क, सरकारी कार्यालय र सार्वजनिक सवारी साधन किटान गरिएको छ । यी स्थानहरुमा भिक्षा मागेमा पटकै पिच्छे थप सजाय र मागेको रकम पनि जफत गर्ने कानूनमा व्यवस्था गरिएको छ ।
पहिलोपटक भिक्षा मागेमा एक महिना कैद वा १ हजार जरिवाना हुने कानूनमा उल्लेख गरिएको छ । दोस्रो पटकदेखि प्रत्येक पटक २ महिनासम्म कैद वा २ हजार जरिवाना गर्ने ऐनमा छ । पहिलो पटक भिक्षा माग्न लगाएको भए १ वर्षसम्म कैद वा १० हजार जरिवाना र दोस्रो पटकदेखि ३ वर्षसम्म कैद वा ३० हजार जरिवाना लाग्ने भनिएको छ ।
छरप्रष्ट भएर बसेका माग्नेहरुको व्यवस्थापन गर्ने विषयमा सरकार सधैं मौन छ । सरकारको मौनताले उनीहरुलाई मागेरै खान झनै प्रोत्साहन गरेको हो कि भन्ने प्रश्न उठ्न थालेको छ ।
यो दृश्यले एक त वर्तमान सरकारको समाजवादको नारालाई गिज्याइरहेको छ भने अर्कोतर्फ शहरको सुन्दरतामा ह्रास आएर राजधानी अव्यवस्थित हुँदै गएको कतिपयले गुनासो गर्दै आएका छन् ।







तस्वीर : सरोज घिमिरे
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया