राष्ट्र बैंकको कमजोरीका कारण मूल्यवृद्धि भयो : शेखर गोल्छा

लोकपथ
42
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले पछिल्लो समय बैंकिङ ब्याजदर वृद्धिको कारण बजारमा मूल्यवृद्धि भएको बताएका छन् ।

आइतबार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघले अगामी आर्थिक वर्ष मौद्रिक नीतिका विषयमा सुझाव कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले यस्तो बताएका हुन् । उनले राष्ट्र बैंकले बैंकहरुको ब्याजदर नियन्त्रण गर्न नसक्दा अहिलेको अवस्था आएको बताए । अध्यक्ष गोल्छाले पछिल्लो ६ महिनामा मात्रै बैंकको ब्याजदर दोब्बरले बढ्दा व्यवसायीहरु समस्यामा परेको बताए ।

उनले अहिले सिमित तरलता रहेको अवस्थामा उत्पादन उद्योगमा लगानी लगाउनुपर्ने अवस्था रहेको बताए । अध्यक्ष गोल्छाले बैंकले कर्जा प्रवाहमा कडाइ गर्दा सरकारको राजश्व लक्ष्य प्रभावित हुने बताए । उनले पछिल्लो समय साना र मझौला उद्योगीको स्थिति नाजुक बन्दै गएकाले मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने बताए ।

अध्यक्ष गोल्छाले उद्योगहरुले बैंकबाट कर्जा नपाउँदा व्यवसाय ठप्प रहेको भन्दै अहिले संकटको समयमा केन्द्रिय बैंकले सबै समस्या समाधान गर्नेगरी मौद्रिक नीति ल्याउँछ भन्ने निजी क्षेत्रले अपेक्षा गरेको बताए । उनले बैंकको नाफामा कडाइ गर्नुपर्ने, आयातका लागि एलसी खोल्दा नगद मार्जिन राख्नुपर्ने निर्णय हटाउन माग गरे । अध्यक्ष गोल्छाले तरलता अभावको कारण बैंकहरुबाट कर्जा प्रवाह नहुँदा अर्थतन्त्र ठप्प हुने अवस्थामा रहेको बताए।

अध्यक्ष गोल्छाले तरलताको चुनौतीका कारण साना व्यवसायी साँच्चै अप्ठ्यारोमा रहेको भन्दै व्यवसायीलाई राहत पुग्ने खालको नीति ल्याउनुपर्ने धारणा राखे । उनले ५५ लाख सेयर लगानीकर्ताले धेरै गुमाइसकेको मौद्रिक नीतिमार्फत सेयर कर्जा धितोको ४/१२ सीमा हटाएर सेयर लगानीकर्तालाई राहत पुग्ने नीति लिनुपर्ने बताए । अध्यक्ष गोल्छाले सरकारले एलसीमा लिएको शतप्रतिशत मार्जिनबाट बैंकहरू मात्र लाभान्वित भएको भन्दै मौद्रिक नीति मार्फत पुनर्विचार गर्न माग गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?