निर्मला हत्या प्रकरण: अभियुक्त विष्टलाई काठमाडौं ल्याइयो

काठमाडौं । निर्मला पन्तको हत्या अभियोगमा पक्राउ परेका दिलीपसिंह विष्टलाई प्रहरीले काठमाडौं ल्याएको छ।

प्रहरीले २४ दिनपछि मुख्य अभियुक्त बनाएर सार्वजनिक गरेका ४१ वर्षीय विष्टलाई उपचारको लागि काठमाडौं ल्याएएको हो।

निर्मला हत्या प्रकरणमा केही दिनदेखि तनावग्रस्त बनेको महेन्द्रनगर क्रमशः शान्त बन्दै गएको छ।

स्थानीय प्रशासनले लगाएको कर्फ्यू आदेश पनि आज दिउँसोबाट हटेको छ।

घटनाबारे थप अनुसन्धान गर्न गृह मन्त्रालयले डिएसपी कृष्णराज ओझालाई अनुसन्धान अधिकृत तोकेर फेरि सुरूदेखि अनुसन्धान थालेको छ। प्रहरीले निर्मलाको हत्यामा बिष्टलाई मुख्य अभियुक्त बनाएर सार्वजनिक गरेपछि प्रहरीको अनुसन्धान शंकास्पद भएको भन्दै स्थानीय आन्दोलित छन्।

घटनाको विस्तृत अनुसन्धानका लागि गृह मन्त्रालयले गठन  गरेको सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको छानबिन समितिले घटनास्थलमा अनुसन्धान गरिरहेको छ।

निर्मला हत्या प्रकरणमा भीमदत्त नगरपालिका वडा नम्बर १८ का दुई दिदी बहिनीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ । 

साउन १० गते साथीकोबाट घर फर्कदै गर्दा बेपत्ता भएकी निर्मलाको साउन ११ गते कञ्चनपुरको उल्टाखाम उखुबारीमा शब फेला परेको थियो । अनुसन्धानमा उनको बलात्कारपछि हत्या भएको खुलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?