काठमाडौं उपत्यकामा ३ करोड लिटर खानेपानी थपियो, महराले गरे शुभारम्भ

काठमाडौं– उपत्यकाको खानेपानी सञ्जालमा शनिबारदेखि दैनिक ३ करोड लिटर पानी थपिएको छ । सभामुख कृष्णबहादुर महराले शनिबार महांकालस्थित पानी संकलन केन्द्रमा धाराको साँचो खोलेर खानेपानी थप्ने कार्यको शुभारम्भ गरेका छन् ।

सुन्दरीजलस्थित प्रशोधन केन्द्रबाट प्रशोधित बाग्मतीको पानी महांकालको संकलन केन्द्रसम्म ल्याएर उपत्यकामा वितरण गर्न थालिएको हो ।

सो अवसरमा आयोजित विशेष समारोहमा बोल्दै सभामुख महराले सुन्दरीजल प्रशोधन केन्द्रबाट थप भएको पानीले मेलम्चीको पानी आउनुअघि उपत्यकाबासीलाई तत्काल राहत दिनेमा विश्वास व्यक्त गरे ।

दशैंअघि नै मेलम्चीको पानी उपत्यकाबासीको घर–घरमा ल्याउन सरकार प्रतिबद्ध भएर काम गरिरहेको आफूले पाएको भन्दै सभामुख महराले सरकार आफ्नो लक्ष्यमा सफल हुनेमा आफू विश्वस्त रहेको बताए ।

मेलम्ची खानेपानी आयोजनालाई छिटोभन्दा छिटो सम्पन्न गर्न सकेमा यसले उपत्यकावासीले झेल्दै आएको खानेपानी ठूलो समस्या हल हुनेछ’, सुन्दरीजलको प्रशोधन केन्द्रबाट आएको पानीको धारा खोल्दै सभामुख महराले भने, ‘दशैंअघि नै मेलम्चीको प्रशोधित पानी उपत्यकाबासीको घर घरमा पु¥याउने दिशामा यो एउटा कोशेढुङ्गा साबित हुनेछ ।’

मेलम्ची आयोजनाले कठीनाई र असफलताका बीचबाट सफलताको अन्तिम बिन्दूमा पुगेको चर्चा गर्नुहुँदै सभामुख महराले मेलम्चीको पानी सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा ल्याउन आवश्यक सुरुङको अन्तिम ब्रेक थ्रु भइसकेको खबर सुनेर हर्षित भएको बताए ।

‘२७ दशमलव ६ किमि लामो मेलम्ची सुरूङको अन्तिम ब्रेक थ्रु सम्पन्न भैसकेको र सुरूङ निर्माण कार्य सम्पन्न हुने चरणमा भएको थाहा पाएँ, उनले भने, ‘प्रशोधन केन्द्रबाट घर–घरमा पु¥याउन आवश्यक पर्ने वितरण प्रणालीको थोक वितरण प्रणालीअन्तर्गत ११ दशमलव ५ किमि लामो सुन्दरीजल–धोबीखोला खण्डको फ्लसिङ गर्ने कार्य सम्पन्न भैसकेको र बाँकी खण्डको थोक वितरण र साना पाइपलाइनहरूको पनि क्रमिक रूपमा परीक्षण हुने चरणमा पुगेको रहेछ, यसले हामी सबैलाई उत्साहित बनाएको छ ।’

अहिले पनि ग्रामीण तथा शहरी क्षेत्रमा समेत धेरै नागरिक स्वच्छ खानेपानीको पहुँचबाट वञ्चित रहेको भन्दै सभामुख महराले सबै नागरिकलाई स्वच्छ खानेपानी पु¥याउन सके समृद्ध नेपाल र सुखी नेपालीको अभियानमा नयाँ इँट्टा थपिने बताए ।

खानेपानी मन्त्रालयले देशका अन्य क्षेत्रमा समेत सञ्चालित खानेपानी आयोजनाको प्रभावकारी अनुगमन गरी पूर्ण क्षमतामा सञ्चालनका लागि पहल गर्ने, स्थानीय सरकारहरुसँगको समन्वयमा नयाँ आयोजनाहरुका लागि प्राविधिक, आर्थिक, भौतिक तथा पूर्वाधारका क्षेत्रमा अभिभावकको भूमिका निर्वाह गर्नेमा आफू आशावादी रहेको बताए ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै खानेपानी मन्त्री विना मगरले दशैंसम्म मेलम्चीबाट १७ करोड लिटर पानी काठमाडौं ल्याउने गरी तीव्र गतिमा काम भइरहेको बताइन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?