काठमाडौं । नेपालको लोकतान्त्रिक तथा नागरिक आन्दोलनका अगुवा पद्मरत्न तुलाधरले लोकतान्त्रिक आन्दोलनमा पत्रकारिताको माध्यमबाट निर्वाह गरेका भूमिका सदवै स्मरणीय हुने सम्बद्ध व्यक्तिहरुले बताएका छन् ।
पद्मरत्न तुलाधर नागरिक अभिनन्दन समारोह समितिको आहवानमा नेवाः पत्रकार राष्ट्रिय दबूले शनिबार आयोजना गरेको ‘पत्रकारिता पद्मरत्न तुलाधर’ विषयक विचार गोष्ठीका सहभागीहरुले सो कुरा बताएका हुन् । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि मिसन पत्रकारिता, भाषिक समानताका लागि समावेशी पत्रकारिता भन्ने नाराका साथ सो कार्यक्रम आयोजना गरिएको थियो ।
उहा“संगै काम गर्नुभएका परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ, पूर्वमन्त्री रघुजी पन्त, मल्ल के सुन्दर र नेपाल प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले तुलाधरको पत्रकारितामा योगदानसंगै लोकतन्त्र, मानव अधिकार, राजनीतिकको क्षेत्रमा पु¥याउनुभएको योगदानको विविध पक्षको चर्चा गरे ।
उनले २०१४ सालतिर नेपाल भाषा पत्रिकाबाट पत्रकारिता यात्रा शुरु गरेका थिए । सो पत्रिका नेपाल भाषाको पहिलो दैनिक थियो । शुरुमा उनले राससबाट प्रकाशित हुने समाचार बुलेटिनको भाषा अनुवाद गर्थे । पत्रिकाका सम्पादक एवं नेपाल पत्रकार महासंघका सस्थापक सदस्य फत्तेबहादुर सिंहको सहयोगीको रुपमा तुलाधरले लामो समय काम गरे ।
सम्पादक सिंहले पत्रिका चलाउन नसकेपछि उहा“ले असनस्थित बालकुमारीमा मदन प्रिण्टिङ्ग प्रेस खोले । त्यसपछि पत्रिका सम्पादन गर्ने, लेख लेख्नदेखि लिएर छपाई र पत्रिका बजारसम्म पु¥याउने कार्य उनी एक्लैले गरेका थिए । त्यसपछि वामपन्थीहरुको पत्रिका रातो युगधाराको सम्पादक भई तुलाधरले पञ्चायती व्यवस्था विरुद्ध नेपाली भाषामा निरन्तर स्तम्भ लेख्न शुरु गरेका थिए । सहभागी वक्ताहरुले यसै सेरोफेरोका विभिन्न पक्षको चर्चा गर्दै उहा“को राजनीति आयामको पाटो केलाए ।
नेपाल प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पत्रकारिता क्षेत्रमा पद्मरत्न आफ्नो गुरु रहेको स्मरण गर्दै भने, ‘२०४२, ०४३ सालतिर म ९ कक्षामा पढिरहँदा मेरो पद्मरत्न तुलाधरसँग चिनजान भएको थियो । पञ्चायती व्यवस्था विरुद्ध प्रकाशित पत्रिकाहरु विभिन्न प्रेसबाट संकलन गरेर जेलमा रहेका राजबन्दीहरु कहाँ पु¥याउने । यस क्रममा उहाँबाट धेरै सिके ।’ पद्मरत्न तुलाधरको प्रखर वक्तृत्वको चर्चा गर्दै उहाँले भने, ‘ नेपालमा दुई जना नेता मात्र यस्ता छन्, जसको भाषण र भाषणको रेकर्ड टेप सुन्न हजारौ जनता लालायित भए । ती मदन भण्डारी र पद्मरत्न मात्र हुन् । यीनको भाषण सुनेर हजारौ जनता जागरुक भए । जसले हजारौमा तेज गतिले वैचारिक प्रवाह गर्न सके ।’
परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले लोकतान्त्रिक आन्दोलन र भाषिक समानताको लागि मिसन पत्रकारिता गरेका धारणा राखे । तुलाधर आफैले एक रुपैयाँ नलिईकन वर्षौसम्म सम्पादकीय लेख्ने, राससको समाचार भाषा अनुवाद गर्ने, छाप्नको लागि अक्षर कम्पोजदेखि बजारसम्म पु¥याउन कार्य एक्लैले गर्ने गरेको बताउँदै उनले भने, ‘यसरी मिसन पत्रकारिता गर्ने नेपालमा दुई जनामात्र रहेको छ । ’
मल्ल के सुन्दरले पञ्चायती व्यवस्थाका विरुद्ध, लोकतान्त्रिक मूल्य, समानताका लागि उनले गरेका पत्रकारिताबाट आजको पुस्ताले सिक्नुपर्ने खाँचो रहेको बताए । ‘जुन मूल्य, मान्यताका लागि उनले पत्रकारिता गरे । त्यो आजको पुस्ताले उनीबाट धेरै सिक्नुपर्दछ ।’ मल्लले भने ।
नेकपाका नेता रघुजी पन्तले पद्मरत्नको पत्रकारितामा प्रखरतासँगै हास्यव्यंग्य लेख्न सक्ने क्षमताको निकै सराहना गर्दै नेपालको लोकतन्त्र, मानवअधिकार र नागरिक अधिकारका लागि पद्मरत्नको उल्लेखनीय योगदानको रहेको बताए ।
सो अवसरमा अगुवा तुलाधरले आफैले समेत बिर्सिसकेको कुरो स्मरण गराउने सबैलाई धन्यवाद दिँदै आफू धेरै वर्षसम्म बाँच्ने विश्वास व्यक्त गरे ।
सो अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष श्रीकृष्ण महर्जनले समावेशी पत्रकारिता, मातृभाषाको पत्रकारिता र लोकतान्त्रिक आन्दोलनमा तुलाधरको भूमिकाले पत्रकारलाई सदैव प्रेरणा दिने बताए ।
तुलाधरको यही भदौं १६ गते हुने भिमरथारोहणको अवसरमा विविध कार्यक्रम गरी मनाउने निर्णय अनुरुप सो कार्यक्रम आयोजना गरिएको हो । शुक्रबार नेपालको मानव अधिकार आन्दोलनमा पद्मरत्न तुलाधरको भूमिका विषयक विचार गोष्ठी आयोजना गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया