जोर्डनलाई रोक्ने नेपालको योजना

लोकपथ
203
Shares

कुवेत । प्रशिक्षक अब्दुल्लाहले नेपालमा सुरुवाती प्रशिक्षण दौरान नेपाल एसिया कप २०२३ मा छनोट हुन नसक्ने बताएका थिए ।

उनले नेपालको ग्रासरुट अवस्थादेखि प्रश्न उठाउँदै नेपालमा उच्च कोटीका खेलाडी नभएको जनाउँदै नेपाली टिमले एसियन कपमा स्थान बनाउन नसक्ने बताएका हुन् ।

तर, पनि नेपाली टिमले कतारको दोहामा केही साता र कुवेतमा समेत आफ्नो अन्तिम तयारी पूरा गरिसकेको छ । नेपालले बुधबार राति नेपाली समय अनुसार १ बजे बलियो टोली जोर्डनको सामना गर्दै छ ।

कुवेत सिटीस्थित जवर अल अहमाद अन्तर्राष्ट्रिय स्टेडियममा हुने खेलमा नेपाल आफूभन्दा फिफा वरीयतामा ७७ स्थान माथिको जोर्डनसँग खेल्न लागेको हो । हाल फिफा वरीयतामा जोर्डन ९१औँ स्थानमा छ भने नेपाल १६८ स्थानमा छ ।

तर, नेपाली खेलाडी, प्रशिक्षकको भने मनोबल भने उच्च रहेको छ । टिममा नियमित ११ खेलाडी छैनन् । नयाँ खेलाडीको बाहुल्यता छ । औषत उमेर २३ छ । कुवेत भ्रमणमा चार नयाँ अनुहारसमेत छन् ।

यद्यपि, एसियाली पावर हाउसविरुद्ध खेलाडीले मनोबल उच्च बनाएका छन् र राम्रो टक्कर दिने योजनामा छन् । दोहा र कुवेतमा अभ्यास खेलमा खेलाडीले निकै राम्रो प्रदर्शन गरे । जसकारण प्रशिक्षकले समेत सुरुवाती लक्ष्यलाई केही परिवर्तन गरेका छन् । उनले जोर्डनलाई रोक्न सक्ने बताउँदै खेलाडीलाई आफूलाई प्रमाणित गर्न अवसर रहेको बताउँदै आएका छन् ।

यता, नियमित टोलीका ११ खेलाडी टिममा छैनन् । नयाँ खेलाडीमा जोश भरिएको छ । खेलाडी आज आफूलाई प्रमाणित गर्ने योजनामा छन् । नेपाल आज विगत फर्केर खेल्ने छैन । सम्झने छ त मात्र दशरथ रंगशालामा २०६८ साल साउनमा खेलेको खेल । जहाँ ठुलो वर्षाको बीच नेपालले जोर्डनलाई १–१ को बराबरीमा रोकेको थियो ।

आज, जोर्डनविरुद्ध अनन्त तामाङको स्थानमा विकास तामाङले डेब्यु गर्न सक्छन् । पहिलो पटक टिममा स्थान बनाएका त्रिभुवन आर्मी एफसीका विकास अभ्यास खेलमा समेत आफूलाई प्रमाणित गरिसकेका छन् ।

जोर्डनपछि नेपालले घरेलु टोली कुवेत र इन्डोनेसियासँग सोही मैदानमा खेल्नेछ । तुलनात्मक रुपमा जोर्डनभन्दा कुवेत र इन्डोनेसिया कमजोर टिम हुन् । यी दुई टिमविरुद्ध भने नेपाल शतप्रतिशत जितको योजनामा रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?