केरुङ रेलमार्ग निर्माणका वियषयमा छलफल गर्न सरकारी टोली चीन जाँदै

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुधन अधिकारी नेतृत्वको उच्चीस्तरीय टोली आज चीन जाँदैछ । केरुङ रेलमार्ग निर्माणका विषयमा छलफल गर्न सरकारी उच्चस्तरीय टोली शनिबार मध्यान्ह १२ बजे त्यसतर्फ प्रस्थान गर्ने रेल विभागका सूचना अधिकृत प्रकाशभक्त उपाध्यायले जानकारी दिए । 

चिनियाँ रेल विभागको निमन्त्रणामा नेपाली टोली बेईजिङ जान लागेको हो । 

शनिबार सरकारी टोलीले चिनियाँ रेल विभागका उच्च अधिकारीसँग केरुङ रेलमार्ग निर्माणका साथै चीनले नेपालमा गर्ने भनिएका अन्य परियोजनाका विषयमा छलफल गर्नेछ । 

केरुङ–काठमाडौं रेलमार्ग सम्भाव्यता अध्ययनका लागि गठित टोलीसँग पनि नेपाली टोलीले विशेष छलफल गर्नेछ । सो टोलीले सोमबार र मंगलबार आफ्नो प्रतिवेदन सार्वजनिक गर्ने जनाएको छ । 
चिनियाँ रेल विभागको टोलीले काठमाडौं केरुङ परियोजनाका लागि एक साता स्थलगत अवलोकन गरेका थिए । झण्डै एक सय किलोमिटर लामो काठमाडौं केरुङ परियोजनाका लागि चिनियाँ रेल विभागले विभिन्न दुई विकल्पमा प्रतिवेदन तयार पारेको जनाएको छ । 

समुन्द्री सतहबाट २ हजार ८ सय मिटरको उचाईमा रहेको परियोजनाका लागि २ खर्ब ७५ अर्ब लागत अनुमान गरिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?