बैंकिङ कसूर मुद्दाका दुईजना फरार प्रतिवादीहरु पक्राउ

लोकपथ
182
Shares

काठमाडौं । बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादीहरु पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) का अनुसार जेठ २४ गते अर्थात आज मंगलबार फरार प्रतिवादीहरु कविता सुव्बा र लिना श्रेष्ठ गिरीलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका मध्ये सुनसरीको धरान उपमहानगरपालिका वडा नं १७ घर भई हाल काठमाडौं महानगरपालिका वडा नं ३१ बानेश्वर बस्दै आएकी ४२ वर्षिया सुब्बाउपर १५ दिन कैद र ५० लाख रुपैयाँ जरिवाना ठहर भएको सिआईबीले जानकारी दिएको छ ।

उच्च अदालत पाटनबाट बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिम कैद तथा जरिवानाको फैसला विसं २०७६ फागुन ६ गते भएको थियो । त्यसपछि भने फरार रहेकी सुब्बालाई मंगलबार काठमाडौंको कालोपुलबाट पक्राउ गरिएको सिआईबीले जानकारी दिएको छ ।

यसैगरी, सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ९ स्थायी घर भइ हाल काठमाडौंको नयाँ बानेश्रर वडा नं १० बस्ने ३९ वर्षिया लिनालाई पनि मंगलबार नैं काठमाडौंको नयाँबस्ती क्षेत्रबाट पक्राउ गरिएको सिआईबीको भनाइ छ ।

श्रेष्ठको विषयमा उच्च अदालत पाटनले विसं २०७६ माघ १९ गते फैसला गर्दै १५ दिन कैद र ५४ लाख ५० हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो । सो पश्चात भने फरार रहेकी लिनालाई पनि मंगलबार नै पक्राउ गरिएको सिआईबीले जनाएको छ ।

सिआईबीका अनुसार पर्याप्त मौज्दात रकम नभएको वैंक खाताहरुबाट रकम भुक्तान हुने भनी जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको भन्ने वैंकिङ् कसूर मुद्दाहरुमा सुब्बा र लिना उच्च अदालत पाटनबाट बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ बमोजिम कैद तथा जरिवाना हुने ठहर भएकोमा सजाय वेरुजू भई फरार रहेका थिए ।

उनीहरुलाई सिआईबीबाट खटिएको प्रहरी टोलिले आज मंगलबार पक्राउ गरी फैसला कार्यान्वयनको लागि सोही दिन काठमाडौं जिल्ला अदालतमा पेश गरेको ब्यहोरा गरेको सिआईबीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?