त्यो मुलुकी ऐन

काठमाडौँ – नयाँ मुलुकी संहिता (ऐन) जारी भएसँगै धेरैले फेरि एकपल्ट पहिलो राणा प्रधानमन्त्री जंगबहादुरलाई सम्झेका छन् । इतिहास भन्छ– जंगबहादुरले नेपाललाई पहिलोपल्ट लिखित कानुन दिए । कान्तिपुर दैनिकमा खबर छापिएकाे छ ।

उनले नै विक्रम संवत् १९१० मा मुलुकी ऐन जारी गरेका थिए, जुन नेपालको कानुनको मात्र नभएर समग्र इतिहासकै दृष्टिकोणले पनि ठूलो उपलब्धि थियो । इतिहासकार त्रिरत्न मानन्धर त जंगबहादुरको यो काम पूरा राणा शासनकै एक ठूलो उल्लेखनीय उपलब्धि मान्छन् ।

‘त्यसअघि नेपालमा लिखित कानुन थिएन । सानोतिनो अदालतबाट आदेशमात्र हुन्थ्यो, लिखित रूपमा । कसैले कसैको ज्यान लिए कस्तो दण्ड दिने भनेर केन्द्रमा सोधिन्थ्यो । जंगबहादुरले त विस्तृत ऐन नै बनाए,’ उनले भने, ‘यसको पूरा श्रेय उनलाई दिनैपर्छ । यो ऐतिहासिक कदम हो । शासकका रूपमा एउटा विधि बनाएर जाने इच्छा पनि भएको हुनुपर्छ ।’

त्यतिबेला सजायमा एकरूपता थिएन । एकै घटनामा फरक ठाउँमा फरक सजाय हुन्थ्यो । यो ऐन आएपछि यसैका आधारमा निर्णय हुन थाल्यो । इतिहासकार मानन्धर भन्छन्, ‘जंगबहादुरको मुलुकी ऐन कति धेरै विस्तृत छ भने सम्भवत: यत्तिको ऐन भविष्यमा पनि कहिल्यै आउनेछैन ।’ यो लगभग ८ सय पेज लामो छ । नेपालको कानुनी इतिहासमा कलम चलाउने पहिलो पुस्ताको इतिहासकारमा पर्छन् मानन्धर । जंगबहादुरको मुलुकी ऐनमै केन्द्रित भएर उनले पुस्तक पनि लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?