नयाँ मुलुकी संहिता : अदालत–प्रहरी नै अलमलमा

सुर्खेत– एक वर्षअघि संसद्बाट पारित ऐनबारे सरकारले प्रचारप्रसार नगर्दा कार्यान्वयनमा अन्योल देखिएको छ । मुलुकी अपराध संहिता र मुलुकी देवानी संहिता शुक्रबारदेखि लागू भए पनि पहिलो दिन मुद्दाका सरोकारवाला पक्ष नै अनभिज्ञ देखिए ।

नयाँ कानुनअनुसार शुक्रबार सुर्खेत जिल्ला प्रहरी कार्यालय र अदालतमा कुनै मुद्दा दर्ता भएनन् । अदालतमा नयाँ सफ्टवेयरसमेत भित्रिसकेको छैन ।
कानुन व्यवसायीले नयाँ कानुनबारे सरोकारवाला अनभिज्ञ रहेकाले सम्पर्कमा आएजति सबै मुद्दा बिहीबारै प्रहरी र अदालत पठाइसकेका थिए । नेपाल बार एसोसिएसनका जिल्ला इकाई अध्यक्ष नन्द भण्डारीले नयाँ ऐनबारे सरोकारवाला सबै पक्ष अपडेट हुन बाँकी रहेको बताए ।
शुक्रबार वीरेन्द्रनगरस्थित अधिकांश ‘ल फर्म’ सुनसान थिए भने कानुन व्यवसायी पनि दुवै संहिताका विशेषता र कार्यान्वयनका सवालमा आपसी गफगाफमा व्यस्त देखिन्थे ।

मुलुकी अपराध संहिता र मुलुकी देवानी संहिता साथै अरू दुई कार्यविधि कानुन, फौजदारी कसुरमा सजाय निर्धारण तथा कार्यान्वयन गर्ने ऐन र केही नेपाल समायोजन तथा खारेज गर्ने ऐन पनि लागू भएका छन् । त्यस्तै, नागरिक ऐन, गाली बेइज्जती ऐन, करार ऐनलगायत १५ वटा कानुन खारेजीमा परेका छन् । आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?