मकवानपुरमा बोलेरो दुर्घटना : वीरगञ्जका दुई वडाध्यक्षसहित ८ जना घाइते

लोकपथ
147
Shares

मकवानपुर । जिल्लाको मकवानपुरगढी गाउँपालिकामा बोलेरो दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।

शुक्रबार दिउँसो वीरगञ्जबाट आएका नवनिर्वाचित वडाध्यक्षहरु बोकेको बोलेरो दुर्घटना हुँदा ८ जना घाइते भएको मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङताङले पुष्टि गरे ।

गाउँपालिकाको वडा नं २ जीपलाइनमा घुम्न आएका वीरगञ्ज महानगरपालिका(२९ र ३० का नवनिर्वाचित वडाध्यक्षहरु क्रमशः मनोजकुमार यादव र धर्मेन्द्र महतो थारुसहित ८ जना रहेका छन् ।

गाउँपालिका अध्यक्ष स्याङताङले दिएको जानकारी अनुसार घुमघामका लागि आएका उनीहरु त्यहीँस्थति एक होटलमा बसेको र दिउँसो बोलेरमा धेरै संख्यामा मानिसहरु भिडभाड गरी चढ्दा दुर्घटना भएको हो ।

‘बोलेरो दुर्घटना भयो भन्ने सुनेको छु । मलाई जानकारी अनुसार वीरगञ्ज महानगरका निर्वाचित दुई वडाध्यक्षसहित ८ जना घाइते भएका छन् । घुम्न आएका उनीहरु आज बोलेरो चढेर अन्यत्र जाने क्रममा दुर्घटना भएको जानकारी आएको छ ।’ उनले लोकपथसँग भने ।

घाइतेहरु सबैको अवस्था सामान्य रहेको र उपचार भइरहेको उनको भनाइ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?