निजामती अस्पताललाई ‘रिफर अस्पताल’को रूपमा विकास गर्ने तयारी

लोकपथ
42
Shares

निजामति कर्मचारी अस्पताललाई ‘रिफर अस्पताल’ का रूपमा विकास गर्ने तयारी गरिएको छ । अस्पतालले आज आयोजना गरेको पत्रकार सम्मेलनमा अस्पतालका निर्देशक डा विधाननिधि पौडेलले अस्पताललाई ‘रिफर अस्पताल’ का रूपमा विकास गर्न थालिएको जानकारी दिएका हुन् ।

अस्पतालको सेवा सुविधालाई सातवटै प्रदेशमा विस्तार गरेर निजामती अस्पताललाई रिफर अस्पतालका रूपमा विकास गर्ने तयारी रहेको छ । उनका अनुसार प्रदेश तहमा रहेका सङ्घ र प्रदेश सरकार अस्पतालसँग सम्झौता गर्ने र निजामती कर्मचारी अस्पतालको जस्तै विशिष्टकृत सेवा उपलब्ध गराउने छ ।

उनले अस्पतालले सातवटै प्रदेश तहमा नै निजामती कर्मचारी र सर्वसाधारणलाई उपचारको व्यवस्था गर्ने र त्यहाँ उपचार हुन नसकेका बिरामीको उपचार मात्र निजामती अस्पतालमा गर्ने बताए । “काठमाडौँ आउनुनपर्ने गरी हामीले प्रदेश तहमा रहेका अस्पतालमा नै यहाँ हुने स्वास्थ्य सेवा उपलब्ध गराउने तयारीमा रहेका छौँ”, उनले भने, “समायोजन भएर गएका कर्मचारी पनि प्रदेश तह र स्थानीय तहमा यहाँकै जस्तो उपचार पाएर खुसी हुने छन् । त्यहाँ उपचार हुन नसकेका बिरामीलाई मात्र निजामती अस्पतालमा उपचार गरिने छ ।”

प्रदेश तहकै अस्पतालले निजामति कर्मचारी अस्पतालजस्तो सेवा सुविधा उपलब्ध गराउने भएपछि कर्मचारी र सर्वसाधारणलाई काठमाडौँ आउन झन्झट हट्ने उनको भनाइ छ । क्यान्सर, मिर्गौलाजस्ता अतिविशिष्टकृत सेवा भने निजामती अस्पतालले उपलब्ध गराउने छ । अस्पतालका उपसचिव कृष्णप्रसाद सापकोटाले यसै वर्षदेखि सात प्रदेशमा रहेका सुविधायुक्त अस्पतालसंँग सम्झौता गरेर सेवा दिने तयारी गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?