काठमाडौं । भूकम्पले भत्किएको धरहरा पुनः निर्माणका लागि आह्वान गरिएको ठेक्काको आर्थिक प्रस्ताव खुला गर्ने काम तीन पटकसम्म स्थगित भएको छ ।
धरहरा पुनः निर्माणका लागि छ निर्माण व्यवसायीले प्राविधिकसहित प्रस्ताव दर्ता गरेका थिए । तीमध्ये प्राविधिक प्रस्तावमा पाँच निर्माण व्यवसायीमात्र पास भएको राष्ट्रिय पुनः निर्माण प्राधिकरणले जनाएको छ ।
पास भएका पाँच कम्पनीमध्ये कुनै एकको कागजात शंकास्पद छ भनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी परेपछि प्रस्ताव खुला गर्ने मिति तीन पटकसम्म रोकिएको प्राधिकरणका सहसचिव राजुमान मानन्धरले जानकारी दिए ।
प्राविधिक प्रस्ताव पारित भएका निर्माण कम्पनीमा जेइक÷लामा जेभी, सिआर ५ सिइसी/स्वच्छन्द जेभी, कुमार/सिएफइसी जेभी, जिआइइटीसी÷रमन जेभी, सिआइसिओ÷कालिका/रसुवा जेभी छन् । जेसीजिआईसिसी÷आशीष जेभीको प्राविधिक प्रस्ताव नै फेल भएको उनले बताए ।
भीमसेन थापाका पालामा बनेको ऐतिहासिक सम्पदा धरहरा तीन वर्ष अघिको भूकम्पसहित चार पटक ढलिसकेको छ । धरहरा पटकपटक ढलेकाले पुरानो संरचना यथावत् सिसाले छोपेर २२ तलाको बनाउने प्राधिकरणको तयारी छ । यसअघिको धरहरा नौ तलाको थियो ।
नयाँ धरहरा बनाउन आधुनिक निर्माण सामग्रीको प्रयोग गरिने भएको छ । अब बन्ने धरहरामा लिफ्ट र भ¥याङसमेत राखिनेछ । धरहरा गुम्बज र गजुर सहित ७२ मिटर अग्लो बन्नेछ ।
भत्किएको धरहराको पूर्वपट्टि नयाँ धरहरा निर्माण गरिनेछ । निर्माणको लागत रु चार अर्ब लाग्ने लागत स्टमेट तयार भएको छ । यसअघि नेपाल टेलिकमले धरहरा बनाउने गरी जिम्मेवारी दिइए पनि पछि हटेको थियो । टेलिकमले आफैँ नबनाए पनि रु एक अर्ब सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
‘मेरो धरहरा मै बनाउँछु’ अभियान अन्तर्गत धरहरा पुनः निर्माण कोषमा रु २४ करोड जम्मा भइसकेको छ । बाँकी स्रोत सरकारले नै व्यहोर्ने भएको छ । पुरातत्व विभाग र टेलिकम दुवैले बनाउन नसक्ने भएपछि प्राधिकरण आफैँले बनाउने निर्णय गरेको सहसचिव मानन्धरले बताए ।
धरहराले गोश्वारा हुलाक कार्यालयलाई जग्गासमेत खालि गर्ने भएको छ । हुलाकलाई भवन खालि गर्न पत्राचार गरिसकिएको प्राधिकरणले जनाएको छ । कुल २४ रोपनी क्षेत्रफलमा धरहरा, पार्किङ र बगैँचासमेत बनाइनेछ । हाल हुलाक रहेको स्थानमा बगैँचा र पार्किङ निर्माण गरिनेछ । धरहरा बनाउन शुरु गरिहाल्ने र हुलाकलाई हटाउने कामलाई जारी राखिने प्राधिकरणका सहसचिव मानन्धरले बताए ।
धरहरा पुननिर्माणका लागि पुननिर्माण प्राधिकरणले टेन्डर आह्वान गर्दा विदेशी कम्पनीको हकमा उसको कागजात अंग्रेजीमा हुनुपर्ने स्पष्ट व्यवस्था गरी टेन्डर आह्वान गरेको थियो ।
धरहरा पुननिर्माणका लागि प्राधिकरणले आह्वान गरेको बोलपत्रको पेज नं ४५ को २.४.२ बुँदामा उल्लेख भएबमोजिम कुनै पनि विदेशी निर्माण कम्पनीले भाग लिन चाहेमा उक्त कम्पनीको विशेष निर्माण कार्य अनुभवको प्रमाणपत्रलाई सम्बन्धित देशको नोटरी पब्लिक र नेपालमा रहेको सो देशको दूतावास वा त्यो मुलुकमा रहेको नेपाली दूतावासबाट प्रमाणित गरी पेश गर्नुपर्ने स्पष्ट व्यवस्था हुँदाहुँदै पनि छानविन गरी आवश्यक निर्णय लिन प्राधिकरणले ढिलाई गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया