प्रकाण्डमाथि अझै तीन दिन छानविन हुने

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई अझै तीन दिन थुनामा राख्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।

उनीमाथि अनुसन्धानका लागि अदालतले थप ३ दिनको समय दिएको हो । 

महानगरीय प्रहरी परिसर काठमाडौंले उनीमाथि अनुसन्धान नसकिएको भन्दै थप १५ दिन म्याद थप गर्न माग गरेको थियो । यसअघि प्रहरीले चन्दा ऐन २०३० अनुसार अनुसन्धान गर्न अदालतबाट ५ दिनको समय लिएको थियो ।

साउन २२ गते हेटौंडाबाट काठमाडौं आइरहेको बा १४ प २७२९ नम्बरको सवारीमा रहेका प्रकाण्ड दक्षिणकाली नगरपालिका–१ चाल्नाखेलबाट पक्राउ गरिएको थियो । उनीसँगै अन्य तीन जनालाई पनि प्रहरीले पक्राउ गरेका थिए ।

प्रारम्भिक अनुसन्धानका क्रममा विभिन्न उद्योगपति, व्यवसायी लगायतबाट अवैध रुपमा करिव ७ करोड चन्दा असुल गरेको पाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?