काठमाडौं : उनीहरु गाउँबाट व्यवस्थापन विषय अध्ययनका लागि राजधानी आएका थिए, तर प्रविधिप्रतिको रुची र अटुट मेहनतले बाटो मोडियो अर्थात प्रविधिको अन्वेषण र आविकारमा जुटे ।
प्रविधिको आविष्कार र विकासमा कलिलो उमेरमै महत्वपूर्ण उपलब्धि हासिल गर्न सफल जुम्ल्याहा दाजुभाई राम–लक्ष्मण रिमालबारे नसुन्ने सायदै होलान् ।
गाउँबस्तीमा आउन सक्ने बाढी पहिरोबाट जोगिनदेखि सहरमा हुनसक्ने चोरी डकैती, लुटपाट र आगलागीबाट जोगिन उनै राम–लक्ष्मण रिमालले विकास गरेको प्रविधि सहयोगी बनेको छ । यसो त राम–लक्ष्मण रिमाल दाजुभाइले पछिल्लो समयमा विकास गरेको इ–भोटिङ मेसिन त झन् विश्वकै नमूनायोग्य बनेको छ । उक्त भोटिङ मेसिनलाई युरोपियन युनियन र युएनले समेत नमूना प्रविधिको रुपमा राखेसँगै उनीहरुको चर्चा थप चुलिन पुगेको छ ।
वि.सं.२०३७ सालमा नुवाकोट वेलकोटगढी नगरपालिकाको वडा नम्वर–१२ को मदानपुर दाङमैको एक मध्यम वर्गीय परिवारमा उनीहरुको जन्म भएको हो । स्थानीय त्रिशक्ति मावि दाङमैबाट एसएलसी उतीर्ण गरेपछि उच्च अध्ययनको सिलसिलामा काठमाडौं आइपुगेका रिमाल दाजुभाइले शुरुमा २०५६ सालमा स्वचालित पानी तान्ने अपरेटर प्रविधिको विकास गरेका थिए ।
राजधानीको ठमेलस्थित सरस्वती क्याम्पसमा आइकम अध्ययन गर्दा गर्दै स्वचालित पानी तान्ने अपरेटर निर्माण गरेपछि उनीहरुको चर्चा चुलिएको थियो । क्याम्पस परिवार र विद्यार्थीहरुमाझ उनीहरुको चर्चा चुलिएसंगै उनीहरुमा नयाँ प्रविधि सटरपसलमा साइरन र समुदाय साइरनको निर्माण गर्ने हौसला बढ्यो । एकजना आफन्तको पसलमा चोरी भएपछि उनले यस्तो प्रविधिको विकास गरेका थिए । व्यवस्थापनको विदार्थी भएपनि उनीहरुको रुची भने प्रविधि तिर थियो । हुन त दाजुभाइको प्रविधिप्रतिको लगाव स्कुले जीवन देखिकै हो ।
नुवाकोटमा बा–आमाले दुःख गरी मकैको खेती गरेको अनुभवका आधारमा स्वचालित मकै छर्ने मेसिन निर्माण गरि आफ्नै गाँउमा प्रयोगमा समेत ल्याएका थिए । विशेष गरी रातिको समयमा घरपसलको ढोका र सटर फुटाएर हुने चोरी नियन्त्रणमा साइरन प्रविधि निकै उपयोगी रहेको छ । सटर तथा ढोकामा साइरन राख्दा चोरले सटर तथा ढोका छुने वा फुटाउने वित्तिकै बज्ने गर्छ । त्यतिमात्र होइन, मोवाइल फोनमा म्यासेज समेत पठाइ दिनेगर्छ ।
आइकमसम्मको अध्ययन पुरा गरेपछि उनीहरु थप अध्ययनका लागि मीनभवनस्थित कर्मश क्याम्पसमा विविएमा भर्ना भएका थिए । उच्च अध्ययनको विषय ब्यापार ब्यवस्थापनको भएपनि प्रविधि उनीहरुको रुचीको विषय थियो ।
युवा बैज्ञानिक राम रिमाल भन्छन्– ‘हामीलाई समाजमा देखिएका चूनौति र समस्या नै प्रेरणाको स्रोत बने, जसले हामीलाई प्रविधिको विकासमा लाग्न प्रेरित गर्यो । राम लक्ष्मण रिमाल दाजुभाइले विकास गरेको सबै भन्दा चर्चित प्रविधि भनेको ‘कम्युनिटि साइरन’ हो ।
यो प्रविधिले कुनै निश्चित समुदायलाई एकवद्ध बनाइ त्यो समुदायलाई आइपरेको समस्या, आगलागी, चोरी, डकैति, दुर्घटना नियन्त्रणका अतिरिक्त दुखसुखमा टोलीवासीको साथ र सहयोग जुटाउन महत्वपूर्ण सहयोग गरेको छ ।
यो प्रविधि काठमाडौं उपत्यकाका दुईसय भन्दा बढी टोल वस्तीहरुमा जडान गरिएको छ । परम्परागत, झण्झटिलो र खर्चिलो निर्वाचनलाई सहज र शुलभ बनाउन उनीहरुले विकास गरेको भोटिङ मेसिन अहिले प्रचलनमा रहेको छ ।
लक्ष्मण भन्छन्, ‘नेपाली भाषा नै उल्लेख भएको सजिलो र सरल तथा अपाङग मैंत्री प्रविधि भोटिङ मेसिन हामीले निर्माण गरेका हौं ।’ मेसिन आम निर्वाचन र स्थानीय निर्वाचन वाहेक अन्य गैरसरकारी निर्वाचनमा प्रयोग भइसकेको छ ।
कम खर्चिलो, सर्वसाधारणले सहजै रुपमा प्रयोग गर्न सक्ने इ–भोटिङ मेसिन विश्वकै उत्कृष्ठ भएको दावी पनि रिमाल दाजुभाइको छ । तर, सरकारले यो मेसिनको औपचारिक रुपमा प्रयोग नगरिदिएको उनको दख मनाउ गरेका छन् ।
नेपाली युवाहरुका लागि प्रेरणाका स्रोत बन्दै गएका युवा बैज्ञानिक राम र लक्ष्मणले प्रविधिको विकाससंगै आफूलाई राजधानीमा स्थापित गर्नुका साथै टेक्नोलोजी सेल्स प्रालि नामक कम्पनी मार्फत दुई दर्जन भन्दा बढी युवालाई रोजगार प्रदान गरेका छन् ।
त्यस्तै, प्रविधिको प्रयोगबाट सर्वसाधारणको जनजीविकालाई सहज र सरल बनाउन आफूहरु लागि परेको लक्ष्मण बताउँछन् । कोठाभित्र बसीबसी ढोका खोल्ने लगाउने, बत्ति अनअफ गर्ने देखि पानी तान्ने र आफू घरमा नहुँदा पनि सुरक्षा गर्ने उपयोगी प्रविधिको विकास गरिसकेका छन् ।
राम-लक्ष्मणले पछिल्लो समयमा सार्वजनिक सवारीका साधनहरुमा मोवाइल एप्लीकेसन (सवारी साधन गुडेकोदेखि यात्रु चढेको संख्या समेत रेकर्ड हुने) निर्माण गरी बस तथा ट्याक्सी र ट्रकहरुमा प्रयोग भइरहेको छ ।
लोडसेडिङको मार खेपिरहेका वेला रामलक्ष्मणले लोडसेडिङ हटाउन लोडसेडिङ म्यानेज एप्स तथा प्रविधिको विकास गरेका थिए । यो प्रविधि ठमेलक्षेत्रमा प्रयोग गर्ने तयारी गरेपनि पछि प्रयोगमा आउन सकेन ।
एउटा सामान्य परिवारमा जन्मेर पनि प्रविधिको क्षेत्रमा आमूल विकास गर्ने अभियानमा लागि परेका रामलक्ष्मणले करीव १५ वटा भन्दा प्रविधिहरुको विकास गरेका छन् । रामलक्ष्मणको प्रविधि अपराध र अपराधि नियन्त्रणका लागि निकै उपयोगी मानिएका छन् ।
बुबा ईश्वरी प्रसाद र आमा गंगादेवीको सुपुत्रको रुपमा जन्मिएका रामलक्ष्मणलाई सहजै छुट्याउन सकिदैन । उनीहरुको चार दाजुभाइ र एक बहिनी छन् । चारै दाजुभाइ प्रविधिको विकासमा सक्रिय छन् । उनीहरुले आफूले कमाएको केही प्रतिशत रकम समाजसेवा तथा दिनदुखी र गरिवको सेवामा लगाउने गरेका छन् ।
अत्याधुनिक प्रविधिको विकाससंगै रामलक्ष्मण रिमाल युवा प्रतिभा पुरस्कार, युवा बैज्ञानिक पुरस्कार, राष्ट्रिय युवा पुरस्कार लगायत दुई दर्जन पुरस्कारबाट पुरस्कृत भइसकेका छन् । सरल जीवनशैली, सामान्य स्वभाव र मिजासिलता र सहयोगीपन यी दाजुभाईको विशेषता हो ।
लक्ष्मण भन्छन् : प्रविधीयात्रा बिजुलीको स्वीचदेखि शुरु भएको हो
गाउँबाट उच्चशिक्षा अध्ययन गर्न काठमाडौं आएपछि बस्नका लागि भाडा तिर्न नपर्ने गरी एउटा घरमा कोठा पायौं । त्यो घरमा पानी तान्ने मोटर थियो । सो मोटरबाट पानी तान्नका लागि घरबेटीले सँधै स्वीच खोल्ने र बन्द गर्ने तथा कहिलेकाहीँ मेसिन नै सार्नुपर्ने थियो । हामीले पनि पानी चाहिएका बेला स्वीच नै दबाउन जानुपर्थ्यो ।
त्यही बिजुलीको स्वीचलाई थिच्नु नपर्नेगरि पानी सकिँदा आफैं तान्ने र पानी भरिएपछि बन्द हुने प्रविधीमा रुपान्तरण गर्न लाग्यौं । त्यसका लागि आवश्यक उपकरण पनि विकास ग-यौं । घरबेटी निकै खुशी हुनुभयो । त्यसपछि सोही उपकरणलाई अरु घरमा पानी तान्ने प्रयोजनका लागि जडान ग-यौं ।
बिजुलीको स्वीचबाट शुरु भएको प्रविधीयात्रा थप विस्तार भईरहेको छ । हामीले कुनै पनि प्रविधी अन्वेषण गरेका होईनौं, तर संसारमा भएका प्रविधीहरुलाई नेपाली समाजको अनूकुल हुने गरि परिमार्जन गरेका छौं । यद्यपी : कम्युनिटी साईरन र लोडसेडिङ व्यवस्थापन गर्ने उपकरणहरुमा चाहिँ हाम्रो धेरै मेहनत परेको छ । यो लगायत विभिन्न ५ वटा प्रविधीहरुमा हामीले प्याटेन्ट राईट नै लिएका छौं । आधा दर्जन प्रविधीहरुको कपीराईट हामीसँगै छ भने हालसम्म झन्डै ५० वटा जीवनोपयोगी प्रविधीहरु विकास गरेका छौं ।
हामीले तयार गरेका प्रविधीहरुले सर्वसाधारण नागरिकहरुको जीवनयापनमा सहयोग पु-याउने भएपनि यसलाई सर्वसुलभ बनाउन सकिएको छैन । सरकार र नीजि क्षेत्रसँग पछिल्लो समय प्रविधी विस्तारका लागि सहकार्य त भएको छ, तर यो पर्याप्त छैन । प्रविधीलाई व्यापकता दिन लगानी पनि धेरै चाहिन्छ ।
हामीले बनाएका प्रविधीहरुलाई नागरिकको जीवनयापन सहज बनाउने गरि वितरण गर्न सरकारले नागरिकलाई अनुदान दिए हुन्थ्यो । यसो हुँदा नागरिकले आफुलाई चाहिएको प्रविधी उचित मूल्यमा किन्न सक्थे र आफ्नो दैनिक जीवन सहज बनाउन सक्थे ।
अहिले हामी ग्रामीण क्षेत्रका नागरिकलाई आवश्यक प्रविधीहरुको विकासका लागि जुट्दैछौं । सहरी क्षेत्रका आधुनिक सवारीसाधनमा लोकेशन थाहा दिने मेसिनदेखि भोटिङ मेसिनसम्म विकास गरेपछि अब हामीले देशका ग्रामिण क्षेत्रका नागरिकको जीवन सहज बनाउने यन्त्रउपकरण विकासमा ध्यान केन्द्रित गर्न खोजेका छौं । तर बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण लिएर काम गरिरहेकाले यसको प्रतिफलबारे समयमै सचेत हुनुपर्ने अवस्था छ ।
त्यसैले, नेपाल सरकारले प्रविधीका अन्वेषक र विकासकर्ताहरुलाई सहयोग गर्नेगरि प्रभावकारी नीति तथा योजना ल्याउनुपर्ने आवश्यकता देखेका छौं ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया