स्थानीय निर्वाचन : नुवाकोटको शिवपुरीमा कांग्रेसभित्र विवाद

लोकपथ
49
Shares

काठमाडौं । आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा वितरण गरिने टिकटको विषयलाई लिएर नुवाकोटको शिवपुरी गाउँपालिकामा कांग्रेसभित्र विवाद देखिएको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसले सो गाउँपालिकामा विजय हासिल गरेको थियो ।

अहिले त्यतिबेला विजयी भएका रामकृष्ण थापालाई नै दोहोर्‍याउन खोजिपछि अध्यक्ष पदका अर्का आकांक्षी गोविन्द प्रसाद थपलियालगायतले विरोध गरेका हुन् । गाउँपालिकाको अध्यक्ष पदका लागि थापा र थपलियासँगै कविराज गुरुङ, मञ्जु केसी, विजय केसी, माधव भेटवाल, रमेश कुमार पाठक, झमकराज गुरुङ, रालबहादुर तामाङ, अप्सरा थापालगायत सिफारिस भएका थिए ।

तर, अन्तिम समयमा रामकृष्ण थापालाई नै दोहोर्‍याउन खोजिएपछि असन्तुष्टि बढेको हो । थापालाई उम्मेदवार बनाउन नहुने भन्दै महाधिवेशन प्रतिनिधि विजय केसी, गाउँपालिकाकी उपाध्यक्ष मञ्जु केसी, वडा नम्बर २ का सभापति दिलीप गुरुङ, वडा नम्बर ३ का सभापति अर्जुन रायमाझी, वडा नम्बर १ का सभापति रविन गुरुङ, वडा नम्बर ६ का अध्यक्ष माधव भेटवाल, क्षेत्रीय प्रतिनिधिहरु भीमसेन खड्का, साधुराम केसी, बागमती प्रदेश कमिटी सदस्य मणिराम केसीलगायतले रामकृष्ण थापालाई दोहार्याउन नहुने भन्दै असन्तुष्टि जनाएका छन् ।

आकांक्षी मध्येका गोविन्द प्रसाद थपलियाले अध्यक्ष पदमा आफ्नो दाबी रहेको बताए । उनले अघिल्लो निर्वाचनमा पनि आफू दाबेदार रहेर छाडेको भन्दै यो पटक टिकट पाउनुपर्ने बताए । शिवपुरी गाउँपालिकामा सत्ता गठबन्धनबीच तालमेलमा सहमति नभएपछि काँग्रेसले उम्मेदवार टुंग्याउन लागेपनि विवाद भएको हो । गाउँपालिका अध्यक्ष हुँदा विवादमा समेत तानिएकाले रामकृष्ण थापालाई उम्मेदवार बनाउन नहुने पक्षमा आफू पनि रहेको नेपाली काँग्रेस शिवपुरी गाउँकमिटीका एक नेताले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?