नुवाकोटमा गठबन्धनमा अझै अन्यौलता : मनोनयनको दिन पनि छलफलमै दलहरु !

लोकपथ
7k
Shares

नुवाकोट । आसन्न स्थानीय तहको निर्वाचनका लागि आज र भोलिका मनोनयनको मिति तोकिएको छ । तर धेरै स्थानमा गठबन्धनका कारण दलहरुले उम्मेदवार टुंग्याउन हम्मेहम्मे परेको छ ।

त्यसमध्ये नुवाकोटमा पनि गठबन्धनको कारण उम्मेदवार टुंग्याउनका लागि दलहरु छलफलमा जुटेका छन् । यसअघि जुन पालिकामा निर्वाचित भएको हो सो पालिकामा सो दल लड्ने र अन्य पालिकामा भने गठबन्धन गरेर जाने सहमति भए पनि अझै त्यसले औपचारिकता पाउन सकेको छैन । यसअघि गठबन्धनबाट एकीकृत समाजवादी र जनता समाजवादी बाहिरिएका छन् ।

नेपाली कांग्रेस र माओवादी केन्द्रले जिल्लाको बेलकोटगढी, विदुर नगरपालिका र तारकेश्वर गाउँपालिकामा गठबन्धन गरेर जाने विषयमा छलफल भएको थियो । तर त्यसलाई अन्तिम रुप दिन अझै दलहरु छलफलमा रहेको नेपाली कांग्रेस नुवाकोटका सचिव बैकुण्ठ मिश्रले लोकपथलाई जानकारी दिए । उनका अनुसार आजको छलफलले एकीकृत समाजवादीलाई समेत साथमा लिएर निर्वाचनमा जाने विषयमा समेत छलफल भइरहेको छ ।

‘हामी छलफलमै छौँ । यसअघि तीन पालिकामा गठबन्धन र अन्य पालिकामा मित्रवत प्रतिष्पर्धा गर्ने भन्ने सहमति भइसकेको छ । तर त्यसलाई अन्तिम रुप दिन आज बैठक जारी रहेको छ । साथै हामी एकीकृत समाजवादीलाई समेत साथमा लिएर अघि बढ्ने विषयमा समेत छलफल भइरहेको छ ।’

यसअघि शनिबार राती नुवाकोटमा गठबन्धन टुटेको भन्ने हल्ला चलेको थियो । तर उक्त हल्ला निराधार भएको समेत उनले पुष्टि गरेका छन् ।

हाल नुवाकोटमा २ नगरपालिका र १० गाउँपालिकासहित १२ वटा स्थानीय तह रहेको छन् । जसमा ३ वटामा एमाले, २ वटामा माओवादी र बाँकी रहेको ७ वटामा नेपाली कांग्रेसले जित हासिल गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?