काठमाडौं । नेकपा एमालेले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि ५ महानगरपालिका र ९ उपमहानगरपालिकामा मेयरको उम्मेदवार छानेको छ । शनिबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकले मेयर तथा उपमेयरको उम्मेदवार टुंगो लगाएको हो ।
धनगढी उपमहानगरमा रणबहादुर चन्दलाई मेयर र चन्द्रकला रानाथारुलाई उपमेयरको उम्मेदवार बनाउने निर्णय भएको छ । यसैगरी नेपालगज्न उपमहानगरपालिकामा पशुपति दयाल मिश्रलाई मेयर र शान्तिदेवी ढकाललाई उपमेयरको उम्मेदवार बनाउने निर्णय हुँदा तुल्सीपुरमा टीकाराम खड्कालाई मेयर र स्यानी चौधरीलाई उपमेयरको उम्मेदवार बनाउने निर्णय भएको छ ।
यसैगरी घोराहीमा नोरुलाला चौधरीलाई मेयर र हुमाकुमारी बिसीलाई उपमेयरको उम्मेदवार बनाउने निर्णय भएको बैठकपछि प्रचारविभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
यसैगरी बुटवलमा बाबुराम भट्टराईलाई मेयर र सावित्रादेवी अर्याललाई उपमेयरको उम्मेदवार बनाइएको छ । यस्तै हेटौँडा अनन्त पौडेललाई मेयर र सुमित्रा काफ्लेलाई उपमेरको उम्मेदवार बनाइएको छ।
यस्तै धरानमा मञ्जु भण्डारीलाई मेयर तथा पदम लिम्बुलाई उपमेयरको उम्मेदवार बनाइँदा इटहरीमा यमकुमार सुब्बालाई मेयर र संगीता चौधरीलाई उपमेयरको उम्मेदवार बनाइएको छ ।
यसैगरी कलैयामा बिनोद शाह मेयरको उम्मेदवार बन्दा उपमेयर टुंग्याउन बाँकी छ। एमालेले उम्मेदवारी दर्ता गर्ने अघिल्लो दिनसम्म दुई उपमहानगरपालिकाको उम्मेदवार भने टुंग्याउन सकेको छैन ।
प्रचार विभाग प्रमुख गुरुङले जनकपुर उपमहानगरपालिका र जीतपुर सिमरा उपमहानगरपालिकामा मेयर तथा उपमेयरको उम्मेदवार टुंगो लगाउन बाँकी रहेको बताए ।
महानगरमा को–को ?
एमालेले पोखरा महानगरपालिकामा दीपक पौडेललाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको छ । यस्तै उपमेयरमा मञ्जुदेवी गुरुङलाई टिकट दिने निर्णय भएको छ ।
यस्तै वीरगन्ज नगरपालिकामा विजय सरावगीलाई मेयरको उम्मेदवार बनाउने निर्णय भएको प्रचारविभाग गुरुङले जानकारी दिए । वीरगन्जमा उपप्रमुखको टुंगो लगाउन भने बाँकी छ
यसैगरी भरतपुरमा विजय सुवेदीलाई मेयरको उम्मेदवार बनाउने निर्णय भएको छ भने उपमेयरको टुंगो लाग्न बाँकी छ। सुवेदीले मेयर बन्नका लागि यसअघि नै प्रदेशसभा सदस्यबाट राजीनामा दिइसकेका छन् ।
यसैगरी ललितपुर महानगरपालिकामा हरिकृष्ण व्यञ्जनकारलाई मेयर र मञ्जली शाक्य बज्राचार्यलाई उपमेयरको उम्मेदवार बनाउने निर्णय भएको छ ।
यता काठमाडौंमा मेयरको उम्मेदवार केशव स्थापित र सुनिता डंगोल उपमेयरको उम्मेदवार रहेकी छन् । एमालेले विराटनगरमा मेयर तथा उपमेयरको उम्मेदवार टुंगो बाँकी रहेको छ। देशभर ६ महानगरपालिका र ११ उपमहानगरपालिका रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया