नुवाकोट । जिल्लाको पञ्चकन्या र ककनी गाउँपालिकामा आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन नहुने भएको छ ।
शुक्रबार नेपाली कांग्रेस पञ्चकन्या र ककनी गाउँपालिकामा बसेको गठबन्धनको बैठकमा सहमति हुन नसकेपछि गठबन्धनमा आबद्ध दलहरुबीच मित्रवत् प्रतिस्पर्धा हुने भएको हो ।
नेपाली कांग्रेस पञ्चकन्याका अध्यक्ष माधव खनाल र नेपाली कांग्रेस ककनीको अध्यक्ष भाग्यश्री लामाको अध्यक्षतामा बसेको दुवै पालिकास्तरीय बैठकले गठबन्धन नगरी मित्रवत् प्रतिस्पर्धामा जाने निर्णय गरेको हो । बैठकको निर्णयअनुसार दुवै पालिकामा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीले आगामी स्थानीय निर्वाचनमा गठबन्धन नभइ मित्रवत् प्रतिस्पर्धा हुनेछ ।
‘यस पञ्चकन्या गाउँपालिकामा सत्ता साझेदार दलहरुको गठबन्धनका सम्बन्धमा जिल्ला तथा केन्द्र सत्ता साझेदार दलहरुको गठबन्धनको निर्णयलाई स्वीकार गर्दै यस पञ्चकन्या गाउपालिकामा हामी गठबन्धन दलहरुबीच मित्रवत् प्रतिस्पर्धामा जाने गरी निर्णय गरियो’, जारी विज्ञप्तिमा भनिएको छ ।

त्यसैगरी, ककनी गाउँपालिको बैठकको निर्णयमा भनिएको छ, ‘ककनी गाउँपालिकामा रहेका सत्ता गठबन्धन दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीबीच सहमति हुन नसक्दा मित्रवत् रुपमा प्रतिस्पर्धामा जाने निर्णय गरियो ।’

सरकारले आगामी स्थानीय तहको निर्वाचनमा देशभर तालमेल गरेर जाने निर्णय गरेको छ । ६ महानगर र ११ उपमहानगरको भागबण्डा समेत गरिएको छ । तर गठबन्धनले पालिकास्तरमा सहमति हुन नसकेमा मित्रवत प्रतिस्पर्धा गरेर जान सक्ने समेत निर्णय गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया