एमालेले अपाङ्गता भएका व्यक्तिलाई आवश्यक पर्ने औषधि स्थानीय तहमै उपलब्ध गराउने

लोकपथ
56
Shares

काठमाडौं । नेकपा एमालेले स्थानीय तहका प्रत्येक वडामा स्वास्थ्य चौकी निर्माण गरी सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरी एमालेले सार्वजनिक गरेको घोषणापत्रमा उक्त प्रतिबद्धता जनाइएको हो ।

घोषणापत्रमा पूर्वाधार, जनशक्ति, वित्तीय व्यवस्था र स्वास्थ्य चेतनाको विकासद्वारा स्वास्थ्यसम्बन्धी मौलिक हकको कार्यान्वयन र निरोगी नेपाल निर्माण गर्ने जनाइएको छ ।

यस्तै, आरोग्यता, स्वास्थ्य परीक्षण, निःशुल्क आधारभूत स्वास्थ्य सेवा, जटिल रोगको निःशुल्क उपचार, बीमा, स्वास्थ्य पूर्वाधार र जनशक्तिको समष्टिगत व्यवस्थामार्फत स्वास्थ्यसम्बन्धी मौलिक हक कार्यान्वयन गर्ने दाबी पनि एमालेले गरेको छ ।

‘प्रत्येक पालिकामा निर्माणाधीन आधारभूत अस्पताल सम्पन्न गर्ने, प्रत्येक वडामा स्वास्थ्य चौकी निर्माण र सञ्चालन गर्ने, त्यसका लागि आवश्यक स्वास्थ्य उपकरण तथा जनशक्ति व्यवस्थापन गर्ने,’ घोषणापत्रमा उल्लेख छ ।

निजी, सहकारी तथा सामुदायिक क्षेत्रसँगको पहल, समन्वय र सहकार्यमा निर्मित अस्पतालद्वारा सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध हुने कुरा सुनश्चित गर्ने पनि घोषणापत्रमा लेखिएको छ ।

स्वास्थ्य सेवा शिविर सञ्चालन, प्रजनन् स्वास्थ्य, पोषण सेवासम्बन्धी कार्य गर्ने, गम्भीर रोगको पूर्वपरिक्षण (स्क्रिनिङ) र पाठेघरको क्यान्सरको नि:शुल्क परीक्षण गर्ने प्रतिबद्धता एमालेले गरेको छ ।

‘प्रत्येक नागरिकको अनिवार्य स्वास्थ्य बीमा गर्ने, जेष्ठ नागरिक, विपन्न, दलित, एकल महिला र अपाङ्गतासहितका व्यक्तिको स्वास्थ्य बीमा नि : शुल्क गर्ने,’ घोषणापत्रमा लेखिएको छ ।

स्पाइनल इञ्जुरीका कारण अपाङ्गता भएका लगायत गम्भीर प्रकृतिको अपाङ्गता भएका व्यक्तिको पुनःस्थापना तथा उनीहरूलाई आवश्यक पर्ने औषधि र अन्य सहायता सामग्री स्थानीय तहमै उपलब्ध गराउने व्यवस्था गर्ने प्रतिबद्धता एमालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?