ललितपुरमा विवेकशील साझा पार्टीका तर्फबाट उज्ज्वलकृष्ण बने मेयरका उम्मेदवार

लोकपथ
224
Shares

ललितपुर। विवकेशील साझा पार्टीले ललितपुर महानगरपालिकामा उज्ज्वलकृष्ण श्रेष्ठलाई मेयरको उम्मेदवारका रुपमा अघि सारेको छ । मंगलबार पाटन कृष्ण मन्दिरसँगै भिमसेन स्थानमा आयोजित एक कार्यक्रममा श्रेष्ठको उम्मेदवारी घोषणा भएको हो। पार्टीको बागमती प्रदेशका संयोजक समेत रहेका श्रेष्ठले उम्मेदवारी घोषणापूर्व नवनिर्मित भिमसेनको मन्दिर दर्शन गरि भ्रष्टाचार नगर्ने र गर्न नदिने कसम खाएका छन्।

ललितपुर महानगर र पाटनको ऐतिहासिक वैभवलाई कायम गर्दै विकास निर्माण गर्ने तथा शिक्षा स्वास्थ्य जस्ता आधारभूत सेवासुविधालाई निःशुल्क र गुणस्तरीय बनाउने आफ्ना एजेण्डा रहेको श्रेष्ठले योजना अघि सारे। सबै पार्टीहरुले ठूला ठूला सपना देखाएर पूरा नगरेको स्मरण गर्दै श्रेष्ठले भने, ‘मैले गर्नै नसकिने ठूला ठूला सपना देखाउँदिन। तर म जे सक्छु त्यो इमानदारीपूर्वक गर्छु। इमानदारी मेरो पहिलो शर्त हो ।’

कार्यक्रममा विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पाटनको सभ्यता र कलाको जगेर्ना हुन नसकेकोमा चिन्ता व्यक्त गरे। उनले भने, ‘विश्वमा अमेरिका भन्ने देश पत्ता नलाग्दै र काठमाडौं र भक्तपुरको सभ्यता सुरु नहुँदै पाटनको सभ्यता र वैभव थियो। हाम्रा पितापुर्खामा रहेको सांस्कृतिक र पुरातात्विक चेत अहिलेको पुस्ता र नेतृत्वमा नहुँदा पाटनको सभ्यतालाई उचित संरक्षण र प्रवर्द्धन गर्न सकिएको छैन।’

विवेकशील साझा पार्टीले ललितपुर महानगरपालिकाको नेतृत्व गर्न पाए शिक्षा, स्वास्थ्यलाई निःशल्क र गुणस्तरीय बनाउनुका साथै पाटनको सभ्यतालाई जगेर्ना गर्न सम्पदा आसपासका हरेक घरलाई नेवाः सभ्यता अनुसारका बनाउन अनुदान दिने अध्यक्ष मिश्रले घोषणा गरे।

घोषणा सभामा पार्टीका नेता एवं बागमती प्रदेश सांसद शोभा शाक्यले ललितपुर महानगरमा थुप्रैपटक पुराना पार्टीले नेतृत्व गरेपनि जनताको जीवनस्तर र शहरको गौरव बढाउन नसकेको दावी गर्दै एकपटक विवेकशील साझा पार्टीलाई मौका दिनुपर्ने विचार राखिन्। अघिल्लो स्थानीय निर्वाचनमा तत्कालिन साझा पार्टीको समर्थनमा उम्मेदवार रहेका रमेश महर्जन तेश्रो र उपमेयरका उम्मेदवार शोभा शाक्य उपविजेता भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?