काठमाडौं । आगामी स्थानीय तह निर्वाचनका लागि पोखरा महानगरपालिकाको मेयर बन्न नेपाली कांग्रेसको तर्फबाट १८ जना र उपमेयरका लागि १० जनाले आकांक्षा देखाएका छन् ।
मेयरको दौडमा प्रदेशका मन्त्री समेत रहेका छन् । नेपाली कांग्रेस पोखरा महानगर समितिले आगामी ३० वैशाखमा हुने चुनावका लागि पार्टीको तर्फबाट उम्मेदवार छान्न आज आकांक्षीहरुको मनोनयन लिएको हो ।
चिप्लेढुंगास्थित नेपाली कांग्रेस कास्कीको पार्टी कार्यालयमा आइतबार बिहान ११ देखि दिउँसो ४ बजेसम्म मनोनयन लिइएकोमा मेयरमा १८ र उपमेयरमा १० जनाले मनोनयन दर्ता गराएको कांग्रेस पोखरा महानगर सचिव गणेश थापाले जानकारी दिए । निर्वाचन समितिका अनुसार मेयरको दौडमा सुदीपमोहन भट्टराई, डा.परमेश्वर पोखरेल, निर्मलप्रसाद कर्माचार्य, कृष्णबहादुर केसी, बाबुराम आचार्य, सरस्वती गुरुङ, नन्दप्रसाद तिवारी, गंगाधर पराजुली, वीरेन्द्रनारायण बिजुक्छे रहेका छन् ।
यस्तै, विश्वशंकर पालिखे, किशोरदत्त बराल, बिन्दु कुमार थापा, बाबुराम गिरी, गणेशबहादुर भट्टराई, कोपिला राना, किरण केसी, विश्व घिमिरे र ऋषि सापकोटाले मनोनयन दिइसकेका छन् ।
यस्तै, उपमेयरमा माया बराल कार्की, लक्ष्मी पाण्डे क्षेत्री, आनन्दी राणा कार्की, रंगीला आचार्य, टीकाकुमारी गुरुङ, दीपक मल्ल, मिलन थापा, चिनु गुरुङ, गोविन्द नेपाली र शिव केसीले मनोनयन दर्ता गरेका छन् ।
मेयरका आकांक्षी धेरै हुने देखेपछि कांग्रेस पोखरा नगर समितिले मेयर उम्मेदवार शुल्क पनि २५ हजार रुपैयाँ तोकेको थियो । साथै उपमेयरका लागि २० हजार रुपैयाँ दररेट तोकिएकोमा यस अलवा फर्म शुल्क दुवै पदमा ५ सय लिइएको थियो । पार्टीको केन्द्रीय समितिले आकांक्षीहरुबाट मनोनयन दर्ता गर्दा कुनै पनि शुल्क नलिने सर्कुलर गरे पनि महानगर समितिले त्यसको ठाडो उल्लंघन गरेकोमा आपत्ति जनाउँदै कार्यकर्ताले आपत्ति जनाएका छन् ।
महानगरले उम्मेदवार बन्न चाहनेहरुको मनोनयन सूचीबाट ३ जनाको नाम छनोट गरी केन्द्रमा सिफारिस गर्नेछ । यसैबीच, गण्डकी प्रदेशका कानुन, संचार तथा प्रदेश मामिलामन्त्री समेत रहेका कांग्रेस नेता बिन्दुकुमार थापाले पनि मेयर पदका लागि मनोनयन दर्ता गराएका छन् । उनले २०७४ सालको प्रदेशसभा चुनावमा कास्की क्षेत्र २ (क) बाट निर्वाचित भएका थिए । उनले माओवादीका उम्मेदवार करणलाई पराजित गरेका छन् । मन्त्री थापा पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्षसमेत रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया