काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले भ्रष्टाचार तत्काल नियन्त्रण नगर्ने हो भने यसले मुलुकलाई नै सिध्याइदिने चेतावनी दिएका छन् ।
भ्रष्टाचार मुलुकको सबैभन्दा ठूलो गम्भिर समस्या भएको उल्लेख गर्दै सभामुख सापकोटाले त्यसको विरुद्ध निशाना नसोझ्याउने हो भने मुलुकलाई नै सिध्याइदिने बताएका हुन् । उनले आफूले जानेर दुई पैसा पनि भ्रष्टाचार नगरेको भन्दै भ्रष्टाचारविरुद्धको अभियानमा सधैंमा साथमा रहने प्रतिबद्धता व्यक्त गरे ।
आईतबारबाट काठमाडौंमा सुरु भएको ‘भ्रष्टाचारविरुद्ध कार्टुन प्रर्दशनी’को उद्घाटन गर्दै उनले भ्रष्टाचार बढदै गएकोतर्फ सचेत गराउँदै त्यसलाई खवरदारी गर्न ढिलाई गर्न नहुने स्पष्ट पारे । सभामुख सापकोटाले भ्रष्टाचारविरुद्धको कार्टुनिष्टहरुको अभियानलाई सातै प्रदेशमा लगेर प्रर्दशन गर्ने काममा आफ्नो साथ रहने पनि बताए ।
उनले भने, ‘मैले जानेरचाहिँ दुई पैसा पनि नाजायज ढंगले लिने गरेको छैन । र, भ्रष्टाचारचाहिँ मेरो दृष्टिमा र मलाई लाग्दछ–यहाँ यो स्तरकै विद्वानहरु हुनुहुन्छ । त्यो स्तरकै बुद्धिजीवीहरु हुनुहुन्छ । भ्रष्टाचार भनेको सामान्य एउटा बजेट हिनामिनको कुरा मात्रै होइन । भ्रष्टाचार भनेको चाहिँ यो राष्ट्रियतासँग जोडिएको कुरा हो । यो बढ्दै गयो । यस्तै गरी हामीले खबरदारी गरेनौँ भने, यसका विरुद्ध निशाना सोझ्याएनौँ भने एक दिन यसले हाम्रो प्यारो मातृभूमिलाई खाई दिन्छ । भ्रष्टाचारको विरुद्ध अभियान छेड्ने संकल्प गर्नुभएको छ । सोहीअनुसारको कार्यक्रम बनाउनुभएको छ । त्यसलाई सातवटै प्रदेशमा लैजाने भन्नुभएको छ । त्यसमा मेरो पूर्णरुपमा समर्थन हुन्छ । संघीय संसदको नेतृत्वको हिसाबले, प्रतिनिधिसभाको सभामुखको हिसाबले तपाईँहरुलाई के सहयोग गर्नुपर्छ ? म सधैँ हाजिर हु । म ऐक्यबद्धता जनाउन चाहन्छु यो याममा । किनभने अहिलेको दुनियाँकै समस्या पनि हो । र, नेपालको केही ठूलो गम्भीर समस्या छ भने भ्रष्टाचार नै हो । भ्रष्टाचारलाई अहिले निर्मूल त भनी नहालौँ । नियन्त्रण गर्न सकिएन भने यसले भित्रभित्रै हाम्रो राष्ट्रलाई सिध्याउँछ भन्ने कुरा फेरि दोहोर्याउन चाहन्छु ।’
काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सुरु भएको सो प्रर्दशनी तीन दिनसम्म चल्नेछ । सभामुख सापकोटाले भ्रष्टाचार नियन्त्रणका लागि क्षेप्याष्त्र हुनेगरी कार्टुनहरु बनाउन पनि काटुर्निष्टहरुलाई आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया