ताप्लेजुङमा उम्मेदवार सिफारिसमा एमालेलाई सकस, गठबन्धनका पाँच दल अलमलमा

लोकपथ
84
Shares

ताप्लेजुङ । स्थानीय तहको निर्वाचन नजिकिँदै गएको छ । तर, ताप्लेजुङका राजनीतिक दलहरुले उम्मेदवार छनोट गर्न सकस भएको छ ।

पाँचदलीय गठबन्धनले अझै भागबन्डा मिलाउन सकेको छैन । गठबन्धनमा आबद्ध दलहरूमा बढीभन्दा बढी आफ्नो पार्टीले चुनाव जितोस् भन्ने सोचले उम्मेदवार छनोटमा अलमलमा परेका छन् ।

गत चैतको पहिलो साता पहिलो पटक ताप्लेजुङमा जनता समाजवादी पार्टीले एक पत्रकार सममेलन गरी आफ्नो उम्मेदवार घोषणा गरिसकेको छ । एमालेले पाँच स्थानीय तहमा सहमतिमा आफ्नो उम्मेदवार छनोट गरेको छ । तर, औपचारिक घोषणा भने गरेको छैन । एमाले पार्टीले केही पुरानै अध्यक्षहरुलाई दोहोर्‍याएको छ ।

पाथीभरा याङवरक गाउँपालिकामा केशकुमार मेन्याङबो र रनमाया गुरुङ अध्यक्ष र उपाध्यक्ष दोहोर्‍याएको छ । फक्ताङलुङ गाउँपालिका अध्यक्ष सरोज लिम्बू दोहोरिने भएका छन् । सिरिजंगा गाउँपालिका-३ का वडा अध्यक्ष सन्तोष चाम्लिङ आउँदो स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्षको लागि उम्मेदवार बनेका छन् ।

उपाध्यक्षको उम्मेदवारमा तुलसा बस्नेत सिफारिस भएको ताप्लेजुङ एमाले स्रोतले जनाएको छ । आठराई त्रिवेणी गाउँपालिकाको अध्यक्ष लागि दिपेन पोमु र उपाध्यक्षका लागि नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शान्ता आङबुहाङलाई आन्तरिक सहमतिबाट उम्मेदवार चयन गरिएको छ ।

नौवटा स्थानीय तह रहेको ताप्लेजुङमा चार स्थानीय तहमा अन्तरिक सहमति जुट्न नसकेपछि प्रदेश कमिटिमा पठाएको प्रचार विभाग प्रमुख मणि पोमुले बताए । नौ स्थानीय तह रहेका ताप्लेजुङमा अधिकांश वडाहरूमा पनि पुरानो वडा अध्यक्षहरु दोहोर्‍याउने तयारीमा रहेको ताप्लेजुङ नेकपा एमाले पार्टीले जनाएको छ ।

यता गठबन्धन भने भागबन्डामै अल्झेको छ । पाँचौंपटक औपचारिक र अनौपचारिक छलफल गरे पनि अहिलेसम्म निकास निकाल्न सकेको छैन । आ-आफ्नो दाबी कायम गरिरहेको छ । कांग्रेसले फुङ्लिङ नगरपालिकासहित सात स्थानीय तहको प्रमुख दाबी गर्दै आएको छ ।

माओवादी केन्द्रले तीन स्थानीय तहको अध्यक्ष र ६ उपाध्यक्ष दाबी गर्दै आएको छ । उता एकीकृत सामाजवादी पार्टीले एक स्थानीय तहको अध्यक्ष र दुई उपप्रमुख दाबी गर्दै आएको छ । जनता समाजवादी पार्टीले एक गाउँपालिका अध्यक्ष र एक उपाध्यक्ष दाबी गरेको छ ।

संघीय लिम्बूवान मञ्च नेपाल पार्टीले एक गाउँपालिको अध्यक्षको लागि आफ्नो दाबी प्रस्तुत गरेको छ । तर, माग पूरा नहुने देखिएपछि चुनावी गठबन्धनको लागि वार्ता टोलीको चौथो बैठकबाट जनता समाजवादी पार्टी र लिम्बुवान गठबन्धनको बैठकबाट बाहिरिएको जनाएको छ ।

फक्ताङलुङ गाउँपालिका, मैवाखोला गाउँपालिका र सिरिजंगा वा सिदिङवा गाउँपालिकामा एक गरि तीन गाउँपालिकाको अध्यक्षको लागि माओवादी केन्द्रले दाबी गर्दै आएको छ । नेपाली कांग्रेसले फुङ्लिङ नगरपालिका,पाथीभरा याङवरक, आठराई त्रिवेणी गाउँपालिका, मेरिङदेन गाउँपालिका, मिक्वाखोला गाउँपालिका, सिरिजंगा गाउँपालिका र सिदिङवा गाउँपालिका गरी सात अध्यक्षको लागि दाबी गर्दै आएको छ । त्यस्तै मिक्वाखोला वा मैवाखोला गाउँपालिका दुईमा एक गाउँपालिका अध्यक्षको लागि एकीकृत समाजवादी पार्टीले आफ्नो दाबी प्रस्तुत गरेको छ ।

त्यस्तै ६१ वडामध्ये २० वडा अध्यक्ष माओवादी केन्द्रले दाबी गरेको छ । एकीकृत समाजवादीले नौ वडा अध्यक्ष दाबी गर्दै आएको छ । बाँकी ३२ वडा अध्यक्ष कांग्रेस र जनता समाजवादी र लिम्बूलाई पनि गठबन्धन समेटेर जाने योजनाका साथ वार्ता जारी रहेको जनाइएको छ । जनता समाजवादी पार्टी र संघीय लिम्बुवान मञ्च नेपाल पार्टीको पनि आफ्नो सम्भावना भएको वडाहरूमा वडा अध्यक्ष दिएर गठबन्धनमा समेटेर लैजाने योजना छ ।

एकीकृत समाजवादी पार्टीलाई दुई उपाध्यक्ष र समन्वय प्रमुख दिएर चित्त बुझाइदिने दाउमा नेपाली कांग्रेस र माओवादी केन्द्र छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?