भिखारी रामको हत्यारा पक्राउ

वीरगंज । पशुपति बैण्डका संचालक भिखारी रामको हत्यामा संलग्न रहेको आरोपमा तीन जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

जि.बारा, कलैया २० निवासी वर्ष ४० का महजिद मिया हजाम, सर्लाही, बरहथवा वडा नं.१० बस्ने वर्ष ४२ का भरत थापा र कास्की पोखरा, लेखनाथ न.पा.१ बस्ने वर्ष २९ का विजय नेपालीलाई पक्राउ गरी मंगलबार पत्रकार सम्मेलन मार्फत् सार्वजनिक गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक रेवती ढकालले जानकारी दिए ।

गत असार ३ गते राति वीरगंज महानगरपालिका वडा नं. ८ गहवा टोल बस्ने पशुपति बैण्डका संचालक वर्ष ५५ को भिखारी रामको हत्या भएको थियो ।

वीरगंज महानगरपालिका वडा नं.८, गहवा टोल स्थित नेपाल टेलिकमदेखि पूर्व जाने रेल्वे रोड र लिंक रोडको बीचमा रहेको गल्ली बाटोमा वादविवाद हुँदा महजिद मिया हजामले भिखारी रामलाई बाटोमा लडाई ढुङाले पटकपटक टाउकोमा हानेर हत्या गरेका थिए ।

हत्या  पश्चात भरत थापा र विजय नेपालीले मृतकको जिउ खानतलासी गरी निजसँग भएको मोबाईल समेत लुटी फरार रहेकोमा खोजतलासको लागि खटिएको प्रहरी टोलीले महजिद मिया हजामलाई सोमवार राति वीरगंज महानगरपालिका वडा नं.२ बाट पक्राउ गरेको पर्साका प्रहरी उपरिक्षक ढकालले जानकारी दिए ।

पक्राउ परेका ३ जनालाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान जारी राखिएको पनि ढकालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?