सातै प्रदेशमा नाथुमका कलेज स्थापना गरिनेछ : मन्त्री आले

लोकपथ
0
Shares

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपालका सातै प्रदेशमा नेपाल एकेडेमी अफ टुरिजम एन्ड होटल मेनेजमेन्ट (नाथुम)का कलेज स्थापना गरिने बताएका छन् ।

नाथुम कलेज रविभवन, कालिमाटी, काठमाडौँको आज ४९औँ वार्षिकोत्सवका अवसरमा मन्त्री आलेले नाथुम कलेज काठमाडौँमा मात्रै सीमित नराखेर अब सातै प्रदेशमा बिस्तार गर्ने गरी काम सुरु भएको बताए ।

उनले भने, “नाथुम कलेजमा पढ्नका लागि अब सुदूरपश्चिम, कर्णालीलगायत विकट ठाउँबाट काठमाडौँ धाउनु पर्दैन, छिट्टै नै हामी सातै प्रदेशमा कलेज स्थापना गर्छौँ, अब आफ्नै प्रदेशमा विद्यार्थीले पढ्न पाउने छन् ।” मन्त्री आलेले सातै प्रदेशमा नाथुमका कलेज स्थापनाका लागि प्रयास सुरु भइसकेको र त्यहाँका कलेजका प्राचार्यसमेत तोकिसकिएको जानकारी दिए । काठमाडौँ विश्व विद्यालयसँगको सहकार्यमा नाथुमका सातै प्रदेशमा कलेज स्थापनाका लागि पहल सुरु भएको मन्त्री आलेको दाबी थियो ।

मन्त्री आलेले सबै प्रदेशमा काठमाडौँ विश्वविद्यालयसँगको सहकार्यमा होटेल मेनेजमेन्ट, ट्रेनिङ कोर्स तथा ट्राभल टुरिजमका तालिम पनि सञ्चालन गरिने बताए ।

नाथुम कलेजका अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले त्रिभुवन युनिर्भसिटीका केही अव्यवहारिक सर्तका कारण नाथुमका कलेज सञ्चालन गर्न नसकेको गुनासो गरे ।

बहराइनको होटेल म्यानेज मेन्टको त्यहाँको एक इनिष्टच्युटले एउटा सेमेष्टर नेपालमा सञ्चालन गर्न चाहान्छ भनेर बहराइनका राजदूतले आफूलाई खबर गरेकाले उनीहरूसँग सहकार्य गरी उनीहरूका विद्यार्थीलाई छ महिना यहाँ पढाइने र हाम्रा विद्यार्थी त्यहाँ पढ्न पठाइने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?