प्याकेजमा समाधान खोज्दै पौडेल पक्ष

काठमाडौँ – कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टी सञ्चालनमा सभापति शेरबहादुर देउवाको कार्यशैली परिवर्तनसहित सबै विषय र मुद्दामा प्याकेज समाधान माग गरेको छ । प्रमुख प्रतिपक्षी कांग्रेस आन्तरिक कलहमै अलमलिँदा सरकार सर्वसत्तावादी बनेको भन्दै नेता–कार्यकर्ताले मिल्न दबाब दिन थालेपछि पौडेल पक्षले यस्तो माग उठाएको हो ।

पौडेल पक्षकै आग्रहमा सभापति देउवाले केही दिनअघि आफ्नै निवासमा पार्टी शीर्ष नेताहरूको बैठक राखेका थिए । जसमा वरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षले सभापतिले पार्टी सञ्चालनमा अपनाउँदै आएको कार्यशैली र पद्धति सच्चिनुपर्ने माग गरेका थिए । आजको कान्तिपुर दैनिकमा यसबारे विस्तृत खबर छापिएको छ ।
पार्टी सञ्चालनमा सभापति एकल ढंगबाट अघि बढेको र कतिपय निर्णय विधानविपरीत रहेको भन्दै उनीहरूले बहुमत र अल्पमत नभई पार्टी विधान र सहमतिका आधारमा अघि बढ्नुपर्ने सर्त राखेका छन् ।

संस्थापनइतर पक्षका नेता अर्जुननरसिंह केसीका अनुसार पार्टी सञ्चालनको पद्धतिमा परिवर्तनदेखि विधान मस्यौदा, महासमिति बैठकको तिथि र स्थान, संघीय संरचनाअनुसार प्रदेश, जिल्ला, क्षेत्र, गाउँ, नगर र वडा तहसम्मको अधिवेशन, म्याद सकिएका भ्रातृसंस्थाको अधिवेशन, विभाग र अन्य समिति गठनलगायत विषयमा प्याकेज सहमति मागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?