गठबन्धनले अझै स्थानीय निर्वाचन सार्न खोजेको योगेशको आरोप

लोकपथ
154
Shares

धनगढी । नेकपा एमाले सचिव योगेश भट्टराईले सत्ता गठबन्धनमा रहेका दलहरूले अझै स्थानीय तहको निर्वाचन सार्न खोजिरहेको आरोप लगाएका छन् ।

प्रेस चौतारी कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले स्थानीय तहको निर्वाचन सार्ने बहानामा योजनाबद्ध ढंगले सर्वोच्च अदालतमा मुद्दा दायर गरी निर्वाचन सार्ने प्रयास भइरहेको आरोप लगाएका हुन् ।

‘अब पनि केही बहानामा स्थानीय तहको निर्वाचन सार्न खोजिँदै छ । विशेषगरी अदालतमा केही मुद्दाहरू हाल्न लगाइएको छ । स्थानीय तहको पाँचवर्षे अवधि के हो भनेर व्याख्या गर्नका निम्ति सर्वोच्च अदालतमा केही मुद्दाहरू योजनावद्ध ढंगले राखिएको छ र हाल्न लगाइएको छ’, उनले भने, ‘भोलि सत्तागठबन्धनहरूले यसको दुरपयोग गर्न सक्छन् ।’

उनले अदालतसँग निर्वाचन कुनै पनि हालतमा नरोक्न आग्रह गरे ।

‘यो निर्वाचन कुनै पनि हालतमा रोक्नु हुँदैन । किनभने यो संवैधानिक व्यवस्थाअनुसार नै छ र त्यसमा कुनै पनि संवैधानिक गलत व्याख्या नहोस् । त्यो हाम्रो भनाइ छ । आम मानिसहरू निर्वाचनतिर केन्द्रित भइसकेका छन् । नेपालमा अब क्रमशः निर्वाचनको माहोल बन्दै छ । त्यस कारण कुनै बहाना निकालेर यो चुनाव सार्न खोजिँदै छ त्यसप्रति नेकपा एमालेको गम्भीर विरोध हुन्छ । ध्यानाकर्षण भएको छ’, उनले भने, ‘संवैधानिक मर्मअनुसार निर्वाचन नभए देशमा अनिष्ट सिर्जना गर्छ । त्यो हुनु हुँदैन भन्ने हाम्रो पहिलो कुरा हो ।’

उनले सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचन सार्न विभिन्न प्रयास गरिरहेको बताउँदै उनले भने, ‘नेकपा एमालेको दबाब र सिंगो मुलुकका बुद्धिजीविको दबाबमा वैशाख ३० गते निर्वाचन मिति घोषणा गरिएको हो । यो निर्वाचन मिति त्यति सजिलै घोषणा भएको होइन । संविधानमा भएको व्यवस्थाको मर्मअनुसार नै निर्वाचन हुनुपर्छ भनेर नेकपा एमालले दबाब सिर्जना गर्‍यो ।’
उनले निर्वाचनलक्षित गरी कर्मचारीहरूको सरुवा बढुवा, सुरक्षा निकायको सरुवा गर्नेलगायतका काम गरिरहेको बताए ।

‘कर्मचारी सरुवा बढुवा सरकारको नियमित काम हो । यसमा हाम्रो कुनै आपत्ति छैन । तर, निर्वाचन लक्षित गरेर, निर्वाचनलाई प्रभावित गर्ने गरेर केही नियोजित कामहरू भइरहेका छन्’, उनले भने, ‘यहाँहरूमार्फत सिंगो नेपालको सुरक्षा निकाय तथा राज्यको तर्फबाट खटिने कर्मचारीलाई म के भन्न चाहन्छु भने यो निर्वाचन शान्तिपूर्ण हुनुपर्छ, निर्भयताका साथ आम मानिसहरूले आफूले चाहेको उम्मेदवारलाई मतदान गर्ने वातावरण हुनुपर्छ । सुरक्षा निकाय र कर्मचारीतन्त्र राज्यको पक्षमा जान मिल्दैन । सरकारको पक्षमा जान मिल्दैन । निष्पक्ष ढंगले उहाँहरूले आफ्नो भूमिका खेल्नुहोस् ।’

उनले नेकपा एमालेले केन्द्रीय घोषणाअनुसार स्थानीय तहको निर्वाचनमा कसैसँग गठबन्धन नगर्ने बताए ।

‘हामी फलानो पार्टीसँग गठबन्धन गर्छौँ भनेर पार्टीको केन्द्रीय तहले घोषणा गर्दैन । नेकपा एमाले आफ्नो सामर्थ्य र बलमा यो चुनाव लड्छ’, उनले भने, ‘एमाले यो मुलुकको लोकप्रिय पार्टी हो । हामीलाई यो पनि विश्वास छ अब आउने निर्वाचनमा हामी ६० प्रतिशतभन्दा माथि स्थानीय तहमा विजयी हासिल गर्ने विश्वास लिएका छौँ । गएको स्थानीय तहको चुनावमा हामीले ४५ सिटमा विजयी हासिल गराउने छौँ ।’

उनले जिल्ला कमिटीले एक तहमाथिको कमिटीसँग पूर्वस्वीकृति लिएर स्थानीय आवश्यकताअनुसार जिल्ला कमिटीहरूले चुनावी तालमेल गर्नसक्ने बताए । उनले एमालेको मुख्य प्रतिद्वन्द्वी नेपाली कांग्रेस मात्र रहेको दाबी गरे ।

‘नेपाली कांग्रेस र एमालेबीचको चुनाव हो यो । अरु दलहरूले त्यस्तो ठूलो हैसियत राख्ने अवस्था पनि छैन’, उनले भने ।

उनले केही दलहरूले सत्तारुढ गठबन्धनसँग चुनावी तालमेल गर्ने भन्दै आइरहेको बताए ।

‘त्यो उहाँहरूको बाध्यता हो । किनभने उहाँहरूले एकलै चुनाव लडेर जित्नसक्ने लगत कही पनि छैन । त्यसकारण कांग्रेससँग टाँसिएर केही ठाउँमा हात लाग्छ कि भनेर उहाँहरूले सोच्नुभएको छ’, पूर्वमन्त्री समेत रहेका भट्टराईले भने, ‘यो बहुदलीय प्रणाली हो, पार्टीहरूबीच प्रतिस्पर्धा हुन्छ र यो बहुदलीय प्रणाली अब बिस्तारै दुई पार्टीबीचको प्रतिस्पर्धामा जाँदै छ । किनकि हामी चुनावी प्रणाली अवलम्बन गरिरहेका छौं । शासकीय प्रणाली अवलम्बन गरिरहेका छौँ । यसले के देखाउँछ भने राष्ट्रिय पार्टीहरू नै प्रभावकारी ढंगले अगाडि आउनुपर्छ । सानातिना दल र क्षेत्रीय दलहरूले एकाध ठाउँ जित्न सक्लान् तर उनीहरूले कुनै राजनीतिक हस्तक्षेप गर्न सक्दैनन् र उनीहरूको कारणले मुलुक फेरि अस्थिरतातर्फ जान्छ ।’

उनले अहिलेको गठबन्धन वैचारिक तथा सैद्धान्तिक गठबन्धन नरहेको बताए । उनले गठबन्धन नेकपा एमालेविरुद्ध रहेको बताए । उनले व्यक्तिगत स्वार्थका आधारमा बनेको गठबन्धनलाई नेपाली जनताले कायम नराख्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?