काठमाडौं । नेपाल विद्यार्थी संघ र तरुण दलको अध्यक्ष मनोनयनप्रति असन्तुष्ट पक्षले कांग्रेस केन्द्रीय समिति बैठकस्थल सानेपामा विरोध प्रदर्शन गर्ने भएका छन् ।
गत बुधबार सभापति शेरबहादुर देउवाले नेविसंघ अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा विद्वान् गुरुङलाई नियुक्त गरेपछि असन्तुष्ट शेखर कोइराला समूहका विद्यार्थी नेताहरूले विरोध प्रदर्शन गर्न लागेका हुन् ।
‘सभापतिज्यूले एकलौटी रूपमा नेविसंघ र तरुण दलको अध्यक्ष नियुक्त गर्नुभएको छ । यसप्रति हाम्रो गम्भीर असहमति रहेको छ’, पूर्वकेन्द्रीय सदस्य प्रेमिका रानामगरले भनिन्, ‘बैठक सुरु हुनुअघि शुक्रबार दिउँसो १ बजेदेखि नै शान्तिपूर्ण रूपमा केन्द्रीय कार्यालयमा विरोध सप्रदर्शन गर्नेछौँ ।’
उनका अनुसार कोइराला समूहको बालुवाटारमा बिहीबार साँझ बसेको अनौपचारिक छलफलपछि सो प्रर्दशन गर्न लागिएको हो । बैठक शुक्रबार दिउँसो २ बजेदेखि सुरु हुनेछ ।
‘हिजो शेखर दाइको सचिवालयमा हाम्रो बैठक थियो । सो बैठकले सभापतिको सो एकलौटी निर्णयप्रति असहमति जनाउँदै शान्तिपूर्ण विरोध प्रदर्शन गर्न लागेको हौं’, मगरले भनिन् ।
उनका अनुसार उक्त बैठकमा कोइराला, चन्द्र भण्डारी, गुरुराज घिमिरे, केशवसिंह, प्रतिमा गौतम, मनोजमणि आचार्य, गोविन्दराज पोखरेललगायत नेविसंघ र तरुण दलका पूर्वपदाधिकारीहरूको उपस्थिति थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया