‘सरकारले श्रमिकलाई रोजगार र राहत दिन गरेका सहमतिहरु कार्यान्वयन गरेन’

लोकपथ
35
Shares

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका मजदुर संगठन नेपाल ट्रेड युनियन कांग्रेसले सरकारले श्रमिकलाई रोजगार र राहत दिन गरेका सहमतिहरु कार्यान्वयन गर्न उदासिन बनेको आरोप लगाएको छ ।

बिहिवार काठमाडौंमा नेपाल ट्रेड युनियन कांग्रेसले पत्रकार सम्मेलन गर्दै सरकार, श्रमीक र रोजगारदातबीच राहत तथा सहुलियत उपलब्ध गराउन भएको सहमतिहरु कार्यान्वयन गर्न उदासिन बनेको आरोप लगाएको हो । पत्रकार सम्मेलनमा ट्रेड युनियन कांग्रेसका महासचिव योगेन्द्रकुमार कुँवरले सरकारको उदासिनताका कारण श्रम बजारमा द्वन्द्व सृजना हुन लागेको बताए ।

महासचिव कुँवरले सरकारले सामाजिक सुरक्षा कार्यक्रम लागु गर्न ध्यान दिन नसकेको कारणले पनि श्रमिक र रोजगारदाताबीच द्वन्द्व बढाउन सहयोग गरेको बताए । उनले सरकार र प्रमुख राजनीतिक दलहरु श्रमजीविहरुको दैनिक जीविकाप्रति संवेदनशील नदेखिएको आरोप लगाए । महासचिव कुँवरले समाजवाद नेपालको संविधानदेखि सबै पार्टीको प्रमुख नीति बनेको भएपनि कार्यक्रमहरु भने त्यसको विपरित भएको बताए । उनले नेपाली काँग्रेस पनि समाजवादको बाटोमा अल्मिलिएको आरोप लगाए । महासविच कुँवरले श्रमिकमैत्री नीति र कार्यक्रमको अभाव सर्वत्र भइरहेको भन्दै नेपाली कांग्रेसले पनि पछिल्ला दिनहरुमा श्रमीक र किसानहरुलाई उपेक्षा गरेको बताए ।

महासचिव कुँवरले भने, ‘नेपाल सरकार श्रमीक र रोजगारदाताबीच राहत तथा सहुलियतका सन्दर्भमा गरेका सहमतिहरु कार्यान्वयनमा उदासिन छ । यसले श्रम बजार पुनः द्वन्द्वमय बन्दै गएकोप्रति महासंघको यस बैठकले विशेष चिन्ता जाहेर गरेको छ । यस महासंघको अग्रसरतामा लामो प्रतिक्षापछि लागू भएको योगदानमा आधारित सामाजिक सुरक्षा सिमित संगठित क्षेत्रमा पनि पूर्णता पाउन सकेको छैन । अनौपचारिक र स्वरोजगार श्रमीकहरु जसको लागि लक्षित गरिएको हो उनीहरुको लागि यो कागलाई बेल पाक्यो हर्ष न विष्मात झैँ भएको छ । यस्ता महत्वपूर्ण सवालहरुमा राज्यको ध्यानाकर्षण हुन सकिरहेको छैन । सरकार र प्रमुख राजनीतिक दलहरुले श्रमजीविहरुको दैनिक जीविकाप्रति संवेदनशील देखिएका छैनन् । नेता गिरिजाप्रसाद कोईरालाको अभाव मुलुकको सिंगो ट्रेड युनियन अभियानले महशुस गरेको छ । समाजवाद नेपालको संविधानदेखि सबै पार्टीको प्रमुख नीति बनेको छ तर कार्यक्रम त्यसको विपरित हुने गरेको छ । नेपाली काँग्रेससमेत समाजवादको बाटोमा अल्मिलिएको छ । श्रमीकमैत्री नीति र कार्यक्रमका सर्वत्र अभाव छ । नेपाली काँग्रेससमेत पछिल्ला दिनहरुमा श्रमीक तथा किसानहरुलाई उपेक्षा गरेको यस बैठकको निस्कर्ष रहेको छ ।’

नेपाल ट्रेड युनियन कांग्रेसले चैत्र ७ र ८ गते काठमाडौंमा दुई दिवसीय राष्ट्रिय समितिको बैठक सम्पन्न गरेको थियो । बैठकले राष्ट्रिय सम्मेलन आगामी वर्षको जेठ २९ र ३० गते काठमाडौंमा गर्ने, ७५३ वटै स्थानीय तहमा आगामी आषाढ मसान्तभित्र स्थानीय तह समिति गठन गरिसक्ने, वैशाख १८ गते अन्तर्राष्ट्रिय श्रमीक दिवसको अवसरमा स्थानीय निर्वाचनलाई लक्षित गरेर देशका प्रमुख शहरहरुमा श्रमीक ¥याली तथा आमसभाका कार्यक्रम गर्ने लगायतका निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?