मुस्ताङमा ट्रिपर दुर्घटना : १५ को मृत्यु, १७ घाइते

सुस्ताङ । मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिकाको स्याङ्बोचेमा ट्रिपर दुर्घटना हुँदा १५ मजदूरको मृत्यु भएको छ । 

बेनी–कोरला सडकखण्डमा काम गर्ने मजदूर चढेको ट्रिपर स्याङ्बोचेमा दुर्घटनामा परेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले जानकारी दिए । 

“दुर्घटनामा १५ जनाको मृत्यु भएको पुष्टि भएको छ, सबै विवरण आउन बाँकी छ”, उनले भने । दुर्घटनामा परी १७ मजदूर घाइते भएका छन् । 

घटनास्थल सदरमुकाम जोमसोमदेखि ५० किलोमिटरको दूरीमा रहेको छ । प्रजिअ पौडेलका अनुसार उद्धारमा घनीबाट गएको प्रहरी टोली र स्थानीयवासी खटिएका छन् । 

जोमसोमबाट थप प्रहरी घटनास्थलतर्फ गएको मुस्ताङका प्रहरी नायब उपरीक्षक महेन्द्र खड्काले बताए । दुर्घटनास्थलमा उद्धार कार्य चलिरहेको छ । “उद्धारका लागि काठमाडौँबाट हेलिकप्टर पनि आउँदैछ,” खड्काले भने । 

दुर्घटना भएको क्षेत्रमा सडक निर्माणको जिम्मा बिरुवा कन्स्ट्रक्सनले लिएको बेनी–कोरला सडकखण्डका इन्जिनियर जगत प्रजापतिले बताए । सोही निर्माण कम्पनीको ट्रिपर दुर्घटनामा परेको हुनसक्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?