मधेश प्रदेशमा म्यादी प्रहरीमा युवायुवतीको आकर्षण

लोकपथ
35
Shares

जनकपुरधाम । आसन्न स्थानीय तहको निर्वाचनको लागि आह्वान गरिएको म्यादी प्रहरी भर्नामा मधेश प्रदेशका युवाहरूको उल्लेखनीय सहभागिता देखिएको छ ।

प्रदेशका आठवटै जिल्ला प्रहरी कार्यालयमा म्यादी प्रहरीमा भर्नाका लागि निवेदन दिने युवायुवतीको भिड लागेको थियो ।

मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार पहिलो दिन नै प्रदेशका आठवटै जिल्लामा पाँच हजार दुई सय १४ जनाले म्यादी प्रहरीका लागि आवेदन दिएका छन् । त्यसमध्ये पाँच सय ९८ जना महिला छन् । मधेश प्रदेशमा बेरोजगारीको संख्या उच्च रहेकाले पनि म्यादी प्रहरी भर्नामा युवाहरूको आकर्षण बढी देखिएको सर्वसाधारणको भनाइ छ ।

म्यादी प्रहरीका लागि आवेदन दिन आएका धनुषा मिथिला नगरपालिका ढल्केवरका बलबहादुर केसी काेराेना महामारीले भारतमा राेजगारी गुमाएका व्यक्ति हुन् ।

‘पहिला भारतको दिल्लीमा बसेर लामो समयदेखि काम गरिरहेका थिएँ तर कोरोना महामारीले रोजगार गुमेपछि घरमै बसेकाे थिएँ । अब ४० दिनकै लागि भए पनि रोजगार पाउने आशमा निवेदन दिन आएको छु,’ उनले भने ।

मिथिला नगरपालिका जमुनिवासकी इन्द्रमाया श्रेष्ठले यसअघि पनि म्यादी प्रहरीमा जागिर खाइसकेकी छन् ।

‘घरमा कामधन्दा छैन, पाँच वर्षपछि पुनः म्यादी प्रहरी सरकारी जागिर खान आवेदन दिन आएकी छु,’ ४५ वर्षीया उनले भनिन् । यसबाट आउने पैसाले घरपरिवारलाई धेरै राहत हुने उनकाे आश छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतका अनुसार म्यादी प्रहरीमा भर्ना हुन पहिलो दिन नै युवाहरूको उच्च रहेको बताए ।

‘पहिलो दिन नै युवाहरूको संख्या उच्च थियो’, उनले भने, ‘दोस्रो, तेस्रो दिन झन् उच्च रहने हाम्रो अनुमान हो । धनुषामा करिब साढे तीन हजार म्यादी प्रहरी चाहिएकोमा पहिलो दिन नै १८ सयभन्दा बढीले निवेदन दिइसकेका छन् । अरु त समय नपाएर भोलि आउने भनेर घर फर्काएका छौं ।’

म्यादी प्रहरीमा भर्ना हुनेले प्रहरी जवानले पाउने मासिक तलब पाउँछन् । म्यादी प्रहरीले ४० दिन तलब पाउनेछ । यस हिसाबले म्यादी प्रहरीले ४० दिनको ३० हजार २४० रुपैयाँ र रासनको सात हजार दुई सय, पाेसाक तथा अन्य खर्च ६ हजार र निर्वाचनको अवधिमा यातायातको खर्चबापत एक हजार गरी कुल ४४ हजार ४४० रुपैयाँ पाउनेछन् । म्यादी प्रहरीमा छनाेट भएकालाई १० दिन तालिम दिइनेछ ।

म्यादी प्रहरीका लागि प्रहरी प्रधान कार्यालयले ६ देखि ११ चैतसम्मको म्याद तोकिएको छ । मधेश प्रहरी कार्यालयका अनुसार प्रदेशभरिमा २१ हजार ६ सय ९८ जना म्यादी प्रहरी भर्ना गरिनेछ । धनुषामा तीन हजार ४८६, सप्तरीमा तीन हजार १३९, सर्लाहीमा तीन हजार ८८, महोत्तरीमा दुई हजार ७३६, रौतहट दुई हजार ५८९, बारा दुई हजार ५२८, सिरहामा दुई हजार ३३१ र पर्सामा एक हजार आठ सय एकजना म्यादी प्रहरी भर्ना गरिने प्रहरी प्रधान कार्यालयबाट परिपत्र आएको मधेश प्रदेशका प्रहरी प्रमुख उमेश रंजितकारले बताए ।

सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सबभन्दा बढी म्यादी प्रहरी मधेस प्रदेशमै राखिने निर्णय भएको उनले बताए । कुल म्यादी प्रहरी २२ प्रतिशत मधेस प्रदेशमै खटाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?