अाेलीको तुलना किम जोङ उन र ज्ञानेन्द्रसँग !

काठमाडौँ — संघीय संसद्का दुवै सदनमा प्रतिपक्षी दलहरूले शान्तिपूर्ण प्रदर्शन गर्न पाउने संवैधानिक हकमाथि बन्देज लगाउने गरी निषेधित क्षेत्र घोषणा गरिएको र गंगामाया अधिकारी तथा डा. गोविन्द केसीको अनशनप्रति बेवास्ता भइरहेकामा आपत्ति जनाएका छन् ।

नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने जनअधिकारलाई कुण्ठित पारी सरकारले निषेधाज्ञा जारी गरेकामा रोष प्रकट गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बुधबार विशेष समय लिएर बोल्दै उनले कम्युनिस्ट नेतृत्वको सरकारले लोकतान्त्रिक समाजवादविरोधी गतिविधि देखाउनु चिन्ताको विषय भएको बताए । उनले समाजवाद उन्मुख भन्ने सरकारले नै सामान्य लोकतान्त्रिक मूल्यमान्यता उल्लंघन गरेको बताए । ‘लोकतन्त्रका सामान्य मूल्यमान्यताविपरीत अधिकारका लागि धर्ना विरोध गर्न नपाउने गरी विभिन्न स्थानमा निषेधाज्ञा जारी गरिएको छ, यो लोकतन्त्रलाई संकुचित गर्ने काम हो,’ भट्टराईको भनाइ थियो ।

उनले लोकतान्त्रिक सरकारले विरोध प्रदर्शन गर्ने स्थान तोक्नु संविधानविपरीत भएको बताए । ‘सार्वजनिक रूपमा सभा जुलुस गर्न नपाउने र कुनाकाप्चाका गल्लीहरूमा जनताले नसुन्ने सरकारको पनि ध्यान नपुग्ने ठाउँहरूमा विरोध प्रदर्शन गर्न पाउने भनेर जुन प्रकारको निर्णय गरिएको छ । यो लोकतन्त्र, समाजवाद, साम्यवाद सबैको मूल्यमान्यताविपरीत छ,’ उनले भने । उनले सरकार, सत्ता र पार्टीको विरोध गर्न नपाइने व्यवस्था लोकतान्त्रिक हुन नसक्ने बताए ।

यो सरकारले माक्र्स–लेनिनको लोकतान्त्रिक धारलाई कि स्टालिन, पोलपोट हुँदै किम जोङ उनको संकुचित धारलाई अनुशरण गरिरहेको छ भन्ने प्रश्न उनले गरे । ‘सरकार माक्र्सवादको कुन धारलाई पक्षपोषण गर्छ ? माक्र्स, लेनिन, रोजाहरूको लोकतन्त्रमा आधारित समाजवादको धारलाई यसले पक्षपोषण गर्छ कि स्टालिन, पोलपोट र किम जोङ उनको संकुचित प्रकारको लोकतन्त्रलाई अनुशरण गर्छ ? यो प्रस्ट गरियोस्,’ भट्टराईको भनाइ थियो ।
बुधबारै राष्ट्रिय सभा बैठकमा कांग्रेसले शान्तिपूर्ण विरोध प्रदर्शनमाथि बन्देज लगाएर सरकार ज्ञानेन्द्रपथतिर लागेको आरोप लगाएको छ । कान्तिपुर दैनिकमा खबर छापिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?