काठमाडौं । लामो समयदेखि मुलुकको अर्थतन्त्र विप्रेषण (रेमिट्यान्स)मै निर्भर छ । वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्स नै मुलुकको अर्थतन्त्रको मूल खम्बाका रुपमा रहेको छ ।
कोरोना महामारीको चपेटामा परेको नेपालको अर्थतन्त्रमा अहिले पनि विप्रेषण एकमात्र आम्दानीको स्रोतको रूपमा रहेको छ । विदेशी मुद्रा कमाउने सन्दर्भमा न त प्रत्यक्ष वैदेशिक लगानी उल्लेख्य छ न त निर्यातले गति लिन सकेको छ ।
अलिअलि आर्जन गर्ने पर्यटन क्षेत्र पनि कोरोना भाइरसको विभिन्न भेरियन्टबाट ग्रस्त छ । जसबाट निको हुन अझै कति समय लाग्ने हो यसै भन्न सकिने स्थिति छैन ।
अघिल्लो वर्षको तुलनामा यस वर्ष वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा वृद्वि भइरहेको छ । तर देशमा विप्रेषण आप्रवाह भने यस वर्षको सुरुदेखि नै निरन्तर घटिरहेको तथ्यांकले देखाएको छ ।
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको पाँच महिनाको तथ्यांकमा आधारित भएर सार्वजनिक गरेको मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी विवरणमा विप्रेषण आप्रवाह शून्य दशमलव ८ प्रतिशतले घटेको उल्लेख गरिएको छ ।
गत वर्ष कोरोना महामारीकै बीचपनि नेपालले कीर्तिमान हुने परिमाणमा विप्रेषण आम्दानी गरेको थियो । उक्त आर्थिक वर्षमा नेपालले ९ सय ६१ अर्ब रुपैयाँ विप्रेषण आम्दानी गरेको थियो ।
तर गत साउनयता चालू आर्थिक वर्षको पहिलो पाँच महिनाको तस्बिर भने निकै निराशाजनक देखिएको छ ।
गत वर्षको सोही अवधिको तुलनामा यो पाँच महिनामा विप्रेषण आम्दानी ६.८५ ले घटेर ३ सय ८८ अर्बमा झरेको छ । गत वर्षको मंसिरमा मात्रै ४ सय १६ अर्ब ८० करोड रेमिट्यान्स नेपाल भित्रिएको थियो ।
यही अवधिमा देशमा भित्रिने र बाहिरिने भुक्तानीको सन्तुलन झन्डै २ सय अर्बले घाटामा छ भने विदेशी विनिमयको सञ्चिति झरेर १ हजार २ सय १४ अर्ब पुगेको देखिन्छ । यही समयमा आयात भने बढेर ८ सय ३८ अर्ब रुपैयाँ पुगिसकेको छ ।
अघिल्लो वर्षको पाँच महिनाको अवधिमा तीन अर्ब ४९ करोड रुपैयाँ बचतमा रहेको चालू खाता समीक्षा अवधिमा ४० अर्ब ९५ करोड रुपैयाँले घाटामा रहेको छ ।
त्यसैगरी, अघिल्लो वर्षको सोही अवधिमा २८ अर्ब ७८ करोड रुपैयाँले बचतमा रहेको समग्र शोधनान्तर समीक्षा अवधिमा नौ अर्ब २७ करोड रुपैयाँले घाटामा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
चालू वर्षको समीक्षा अवधिमा खुद ट्रान्सफर ७ दशमलव ४ प्रतिशतले कमी आई ३ सय ४५ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा सो ट्रान्सफर ८ दशमलव ९ प्रतिशतले बढेको थियो ।
यी सूचकहरूमा कमी आउनुमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा विप्रेषण आप्रवाहको कमीले प्रभाव पारिरहेको अर्थविद्हरूले बताएका छन् ।
विप्रेषणले अर्थव्यवस्थाको समष्टिगत आर्थिक स्तरमा विदेशी मुद्राको सञ्चय बढाउने, राष्ट्रिय आम्दानी बढाउने, आयातलाई आवश्यक पर्ने विदेशी मुद्राको स्रोत बन्ने र शोधनान्तर स्थितिलाई सुदृढ बनाउँछ ।
तर, विप्रेषणबाट आर्थिक विकासमा पुग्ने योगदानको सम्बन्धमा भने कतिपय अर्थशास्त्रीहरूले नकारात्मक धारणा राख्ने गरेको पाइन्छ ।
देशभित्र साधनको आप्रवाह भए पनि काम गर्ने उमेरका जनसंख्याको ठूलो प्रतिशत देशबाट बाहिर जाने हुनाले उक्त रकमलाई उत्पादनशील कार्यमा लगाउन नसकिने उनीहरूको तर्क छ ।
नेपाली अर्थतन्त्रको मेरुदण्ड बन्दै आएको रेमिट्यान्स अर्थात् विप्रेषणमा अत्यधिक निर्भर भइरहँदा अन्य क्षेत्र विकास हुन नसकेको उनीहरू बताउँछन् ।
प्रायजसो ग्रामीण क्षेत्रमा उत्पादन बढ्न सक्दैन । यसले समाजमा व्याप्त असमानतामा पनि वृद्धि गरेको पाइएको छ । विप्रेषणबाट प्राप्त रकमले स्वदेशमा उत्पादित सामानको माग बढ्नुभन्दा पनि आयातीत उपभोग्य वस्तुको माग बढाउने अध्ययनले देखाएको छ ।
विज्ञहरु भन्छन्, ‘विदेशमा रहेका नेपाली कामदारले अनौपचारिक माध्यमबाट रकम पठाउने क्रम बढ्नुले पनि नेपाल भित्रिने रेमिट्यान्समा कमी आएको छ’ ।
हुण्डी, क्रिप्टोकरेन्सीजस्ता गैरकानुनी माध्यमबाट रकम आएको बारे सरोकारवालाले ध्यान दिनुपर्नेमा उनीहरूको जोड छ ।
यसबारे थप स्पष्ट हुन र मुलुकको ढुकुटीमा रेमिट्यान्सको योगदान कम हुँदै जाने जोखिम कम गर्न नेपाल राष्ट्र बैंकको गम्भीर ध्यानाकर्षण भएको र सरकारीस्तरबाट विस्तृत अनुसन्धान भइरहेको नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता नारायण प्रसाद पोख्रेलले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया