काठमाडौं । काठमाडौं जिल्लामा रहेका सहयोगापेक्षी सडकआश्रित मानवहरुको व्यवस्थापनका लागि काठमाडौंमा निर्माण हुने शहीद धर्मभक्त माथेमा महानगर मानवसेवा आश्रमको डीपीआर तयार भएको छ ।
नागार्जुन नगरपालिका (६ मा बन्ने भवनको अबको निर्माण प्रक्रियालाई अगाडी बढाउन डीपीआर डिजाइन गरिरहेको काठमाडौं महानगरपालिका अन्तर्गतको शहरी योजना आयोगले नागार्जुन नगरपालिकालाई उक्त डीपीआर डिजाइन सहितको फाइल हस्तान्तरण गरेको हो ।
उक्त फाइल काठमाडौं महानगरपालिकाका नगर प्रमुख एवं शहरी योजना आयोगका अध्यक्ष विद्यासुन्दर शाक्यले नागार्जुन नगरपालिकाका नगर प्रमुख मोहन बस्नेतज्यूलाई हस्तान्तरण गरेका हुन्।
उक्त निर्माण हुने भवनको सम्पूर्ण लगानी काठमाडौं महानगरपालिकाले गर्ने र त्यसको व्यवस्थापन नागार्जुन नगरपालिकाले गर्नेछ । भवन निर्माण पश्चात सडकमानवको व्यवस्थापनका लागि भवन मानवसेवा आश्रमले सदुपयोग गर्नेछ ।
भवन निर्माणका लागि अनुमानित ११ करोडको लागत रहेको छ भने १८० जना सहयोगापेक्षी व्यक्तिहरु उद्धार गरि व्यवस्थापन गर्नका लागि २५ जना सेवामा रहने टिमको आवासीय सुविधा भवनमा रहनेछ ।
कार्यक्रममा काठमाडौं महानगरपालिकाका उप प्रमुख हरिप्रभा खड्गीज्यू, नागार्जुन नगरपालिकाका योजना शाखा प्रमुख नारायण तिमिल्सिना, मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
हाल मानवसेवा आश्रमले काठमाडाैं महानगरपालिका-२६, सामाखुसी र नागार्जुन नगरपालिका १, रानीबनबाट २०५ जनाको संरक्षण गरिरहेको छ भने देशका सातै प्रदेशको १७ जिल्लाका २४ स्थानहरुबाट १६०० बढीको संरक्षण गरि देश भरि नै सेवा प्रदान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया