राजधानीका सडकले सवारी चाप धान्नै गाह्रो !

लोकपथ
21
Shares

उपत्यकाका सडकले अब सवारीसाधन धान्न नसक्ने भएका छन् । अत्यधिक सङ्ख्यामा सवारीसाधन भित्रिँदा सबैजसो सडक साँघुरो हुन थालेका छन् ।

सवारीसाधनको चापले सडक अवरुद्ध हुँदा समयमा गन्तव्य स्थल पुग्न अब कठिन भइसकेको छ । अव्यवस्थित सवारीसाधनका कारण सडक दुर्घटना, ध्वनि तथा वातावरण प्रदूषणसमेतको समस्या निकै बढेको छ ।

यातायात व्यवस्था विभागका प्रवक्ता डा. लोकनाथ भुसालले सवारीसाधनको सङ्ख्यालाई सडकले धान्न नसक्ने बताउँदै भने, “अनियन्त्रित रूपमा सवारीसाधन भित्र्याउने कार्य अब रोक्नैपर्छ । ट्राफिक व्यवस्थापनलगायतमा एकीकृत नीतिको आवश्यकता देखिएको छ ।”

विभागका अनुसार नेपालमा दुई र चारपाङ्ग्रे गरी ४० लाख सवारीसाधन दर्ता छन् । तीमध्ये झन्डै ५० प्रतिशत सवारीसाधन उपत्यकामै गुड्छन् । सडक अवरुद्ध गर्नेमा ठूला सवारीसाधनभन्दा साना तथा दुईपाङ्ग्रे सवारीसाधनको भूमिका बढी हुने गरेको छ । नेपालमा दैनिक करिब चार सयवटा नयाँ मोटरसाइकल दर्ता हुने गरेका छन् ।
सरकारले २०७२ सालदेखि २० वर्ष पुराना सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाएको छ । तर, यसको प्रभावकारी कार्यान्वयन हुन सकिरहेको छैन ।

यातायात व्यवसायीले २० वर्ष तोक्नुभन्दा पनि गाडीको अवस्था हेरेर बन्द गर्नुपर्ने माग गर्दै आएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष विजय स्वाँरले प्राविधिक रूपमा चल्न सक्ने गाडी चलाउनुपर्ने सुझाव दिँदै प्राविधिक रूपमा चल्न नसक्नेलाई विस्थापन गर्न २० वर्ष पर्खिनुपर्ने आवश्यकता नरहेको बताए ।गोरखापत्र दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?