काठमाडौं । अपहरण र गुण्डागर्दीमा संलग्न चार ब्यक्तिको साथमा रहेका हात–हतियारहरु प्रहरीले जफत गरेको छ ।
सरकारबाट इजाजत प्राप्त हात–हतियार दुरुपयोग गरी ठेक्का–पट्टा कब्जा तथा सर्वसाधारणलाई आतंकीत पार्ने कार्य गरेको अभियोगमा प्रहरीले चारजनाको साथबाट हतियार जफत गरेको हो ।
आत्म सुरक्षाका नाममा हात–हतियार राख्न पाउने सम्वन्धी इजाजत पत्र पनि रद्द गरिएको छ ।
महानगरीय प्रहरी अपराध महाशाखाले काभ्रे उग्रचण्डीका वीरेन्द्रलाल श्रेष्ठ र काभ्रे बालिटङकै बले भन्ने बलराम सापकोटाको हतियार राख्न पाउने सम्वन्धी इजाजत रद्द गरेको छ ।
त्यस्तैं, सोलुखुम्बु केरुङका आङ्काजी शेर्पा र मोरङ डाँगीहाटका रघुनाथ पुरीको हतियार सम्वन्धी इजाजत पत्र रद्द गरिएको जनाएको छ ।
काठमाडौं उपत्यकालाई अपराधको कर्मथलो बनाउदै आएका श्रेष्ठ ठेकेदार हुन भने बले दरवारमार्गक्षेत्रका कुख्यात गुण्डा हुन ।
शेर्पा जातिय आन्दोलनका नाममा सामाजिक सद्भाव खल्बल्याउने लगायतका विभिन्न अपराधिक गतिविधि संलग्न अभियुक्त भएको महाशाखाले जनाएको छ ।
त्यस्तैं, पुरी पनि हतियारको दम्भमा ठेक्कापट्टा हात पार्न उद्धत रहेको पाइएको छ । उनीहरुको साथमा अत्याधुनिक हतियार रहेका थिए ।
उनीहरु चारैजनाले काठमाडौं र ललितपुर जिल्ला प्रशासन कार्यालयबाट ब्यक्तिगत शान्ति सुरक्षाका लागि भन्दै हतियार राख्न पाउने इजाजत लिएका थिए ।
महाशाखा प्रवक्ता नरेन्द्रप्रसाद उप्रेतीले उनीरुहको साथमा रहेका सम्पूर्ण हतियार जफत गरिएको बताए ।
उनीहरु विरुद्ध विभिन्न पटक ठगी, अपहरण, शारीर बन्धक र केही सार्वजनिक मुद्धामा अनुसन्धान हुने गरेको थियो ।
आत्म सुरक्षाका लागि भन्दा पनि सर्वसाधारणलाई तर्साउन सवारी साधन तथा साथमा नै हतियार बोकेर हिड्ने गरेका थिए ।
जिल्ला प्रशासन कार्यालयले हातहतियार खरखजना ऐन २०१९ अनुसार, सर्त पालना नगरेको भन्दै प्रहरीलाई हतियार जफत गर्न निर्देशना दिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया