म्याग्दी । जिल्लाको रघुगङ्गा गाउँपालिकाले जीप दुर्घटनाका घाइतेलाई उपचार र मृतकका परिवारलाई किरियाखर्च उपलब्ध गराउने भएको छ । रघुगङ्गा–१ बेगमा सोमबार साँझ जीप दुर्घटना हुँदा वडा सदस्यसहित चारको मृत्यु र चारजना घाइते भएका थिए ।
प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले घाइतेलाई जनही एक लाखका दरले उपचार खर्च उपलब्ध गराइने जानकारी दिए । मृतकका परिवारलाई किरिया खर्चका लागि ५० हजार रुपैयाँका दरले उपलब्ध गराउने निर्णय भएको उनले बताए ।
बेनीदेखि बेगको सिम जाँदै गरेको ग१ज ७२५१ नम्बरको जीप औँलामा दुर्घटना हुँदा बेगकी वडा सदस्य गौमाया विक, चालक दुढबहादुर थापा, यात्रु खिमु पुन र खिमानन्द शर्माको मृत्यु भएको थियो । मृतक र घाइते सबै बेगका हुन् । ५४ वर्षीय बलबहादुर बिक, २३ वर्षीय मनोज पुन, २० वर्षीय भीम फगामी र ३० वर्षीय ज्ञानबहादुर शेरपुञ्जालाई बेनी अस्पतालले मणिपाल शिक्षण अस्पताल पोखरा रिफर गरेको छ ।
प्रहरीका अनुसार जीप सडकदेखि करिब तीन सय मिटर तल खसेको थियो । मङ्गलबार बिहानै प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले बताए ।
यसैगरी, रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारी, उपाध्यक्ष कमला तिलिजा र प्रशासकीय अधिकृत अमृत सुबेदीले आज शोक विज्ञप्ति जारी गरेर मृतकप्रति श्रद्धाञ्जलि र घाइतेहरुको स्वास्थ्य लाभको कामना गरेका छन् । वडा सदस्यको निधन भएको शोकमा गाउँपालिका, शाखा र वडा कार्यालय तथा बेगका विद्यालयहरु आजका लागि बन्द गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया