काठमाडौं । म्यानमारको जुन्टा अदालतले शुक्रबार एक अमेरिकी पत्रकारलाई ११ वर्षको जेल सजाय सुनाएको छ । त्यहाँका वकिलहरुले गैरकानुनी संगत, सेनाविरुद्ध उक्साउने र भिसा नियम उल्लंघन गरेको लगायतका आरोपमा दोषी ठहर गर्दै उनलाई जेल सजायको फैसला सुनाएको जानकारी दिएका छन् ।
सेनाले गत फेब्रुअरीमा ‘कू’ गरी सत्ता लिएपछि प्रेसलाई पनि नियन्त्रणमा लिएको छ । सैैन्य कूविरुद्ध प्रर्दशन र आलोचना गर्ने दर्जनौं पत्रकारहरूलाई सैनिक सरकारले गिरफ्तार गरेको छ ।
स्थानीय अनुगमन समूहका अनुसार सैन्य कूका विरोधमा भएको प्रर्दशनको क्रममा १२ सयभन्दा बढी व्यक्तिहरू मारिएका थिए भने, हजारौँ पक्राउ परेका थिए ।
करिब एक वर्षदेखि स्थानीय ‘आउटलेट फ्रन्टियर म्यानमार’का लागि काम गरिरहेका ड्यानी फेन्स्टर आफ्नो परिवारलाई भेट्न देश छोड्न खोज्दा मे महिनामा पक्राउ परेका थिए ।
उनलाई अन्य नागरिकलाई उक्साउने, गैरकानुनी रुपमा भिसा नियम उल्लंघन गरेको लगायतका आरोपमा एघार वर्षको जेल सजाय सुनाइएको त्यहाँका वकिल थान जाव आङले एएफपीलाई जानकारी दिए ।
त्यहाँको मुद्दा पुनरावेदन गर्ने कि नगर्ने भन्ने बारेमा निर्णय भई नसकेको ती वकिलले बताए । पक्राउ परेका पत्रकार फेन्स्टरलाई यांगुनको इन्सेन जेलमा राखिएको छ । उनलाई देशद्रोह र आतंकवादको आरोप पनि लगाइएको छ ।
उनलाई आजीवन जेल सजाय दिन सक्ने पनि अनुमान गरिएको छ । फ्रन्टियर म्यानमारले प्रकाशित गरेको विज्ञप्तिमा अदालतको फैसलाबाट आफूहरु सबै जना निराश भएको र ड्यानीलाई रिहा गरिएको हेर्न चाहेको उल्लेख गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया