लगातारको झरी र हावाहुरीले देशैभर बबण्डर मच्चाउँदै

काठमाडौं : आईतबार विहानदेखिको लगातार झरी र हावाहुरीले देशभर जनधनमा क्षति पु¥याएको छ । काठमाडौं उपत्यकासहित देशका अधिकांश भागमा भएको बर्षाले जनजीवन निकै असहज बनाएको छ ।

प्रि–मनसुन भनिएपनि निकै बाक्लो गरि पानी परेपछि आएको बाढीले कतै विद्यालय हिँडेका विद्यार्थी बगाएको छ भने कतै गाउँ नै पुरिदिएको छ । 

मन्थली जलमग्न, सडक र बजार डुब्यो
आईतबार रातभर परेको बाक्लो बर्षाले रामेछापको मन्थली बजार जलमग्न भएको छ । सडक अवरुद्ध भएको छ । जिल्लामा यातायात आवागमन ठप्प भएको छ । मन्थली बसपार्कमा राखिएका सवारीसाधनहरुलाई गग्य्रानले पुरेको छ । जनजीवन अस्तव्यस्त बनेको छ । 

राती १२ बजेदेखि परेको पानी अझैं रोकिएको छैन । बसपार्क र खाँदबारी क्षेत्र डुबानमा छन । निरन्तको झरीपछि खसेको पहिरोले स्थानीयका घर र पसलमा क्षति पु¥याएको छ । 

खोलाले विद्यार्थी बगायो
रामेछापकै मन्थलीमा कक्षा ११ को परीक्षा दिन गएका विद्यार्थीलाई खोलामा आएको बाढीले बगाएको छ । मन्थली माध्यामिक विद्यालयका विद्यार्थीहरुलाई बाढीले बगाएको हो ।

मन्थली नगरपालिकाको भटौलीमा रहेको परीक्षा केन्द्र रुद्राक्षश्वर माध्यमिक विद्यालय परीक्षा जान दिने क्रममा विद्यार्थीहरुलाई खोलाले बगाएको हो ।  

बाढीले बगाएकामध्ये ४ विद्यार्थी पौडिएर खोलाबाहिर निस्किएका छन । अरु विद्यार्थीलाई बगाएको आशंका गरिएको छ । उद्दारका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ । 

सिद्धार्थ राजमार्गमा पहिरो खस्यो 
निरन्तर बर्षाका कारण सिद्धार्थ राजमार्गमा पहिरो खसेको छ । बुटवल–दोभान सडकखण्ड अवरुद्ध भएको छ । यातायातका साधन बीच बाटोमै रोकिँदा यात्रुहरु अलपत्र परेका छन । तिनाउँ गाउँपालिकाको हेडबक्समा सडकमा पहिरो खस्दा सोमबार विहान २ बजेदेखि यातायात ठप्प छ । 

विहान ७ बजेदेखि सडक सफा गर्न डोजर प्रयोग गरिएपनि दिनभर काम नसकिने भएपछि बुटवलबाट अर्को डोजर ल्याउन लागिएको प्रहरीले जानकारी दिएको छ । 

म्याग्दीको तातोपानीमा गाउँ नै पुरियाे 
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानी बजारमा आइतबार साँझ आएको बाढीले चार वटा घर पुरिएको छ । 

भीषण वर्षापछि बजारमाथि रहेको खहरेखोला थुनिएर बाढी आउँदा चार घर पूर्ण र तीन घरमा आंशिक क्षति पुगेको वडाध्यक्ष ओमप्रकाश फगामीले जानकारी दिए । बालकृष्ण मिजारको एक तले, लट्टे गिरीको दुई तले, अकुमारी पुर्जाको दुई तले र ढावा शेर्पाको एक तले घरमा पूर्णरुपमा क्षति पुगेको छ । 

गोविन्द पुर्जाको कपडा पसल, टेकनारायण पौडेलको स्टेशनरी र अरुण थकालीको घरमा बाढी पसेर क्षति पु¥याएको छ भने केही होटल र घरमा समेत बाढी पसेको छ । 

बाढीबाट त्यहाँ रहेका एक दर्जन बढी घर प्रभावित भएका छन् । घरमा बाढी पसेपछि अन्नपात, लत्ताकपडालगायत घरायसी सामानमा क्षति पुगेको छ । प्रहरी, नेपाली सेना, जनप्रतिनिधि र स्थानीयवासीको टोलीले क्षतिको विवरण संकलन गरिरहेको छ । 

दिउँसो ३ बजेदेखि डेढ घण्टासम्म भएको भीषण वर्षापछि बस्ती माथिको पाखोबाट आउने खहरेखोलामा एक्कासि बाढी आएपछि स्थानीयको भागाभाग भएको थियो ।

बेनी जोमसोम सडक अवरुद्ध
वर्षापछि विभिन्न ठाउँमा खसेको पहिरो र खोल्सामा आएको बाढीले म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली पर्यटकीय जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध बनेको छ । 

दानाको घट्टेखोला, काभ्रे र बेगखोलामा बाढीले अवरुद्ध बनाएको सडक खुलाउन बेनी जोमसोम कोरला सडक आयोजनाले डोजर परिचालन गरेको छ ।  

घट्टेखोलामा बाढीले निर्माणाधीन पुलमा समेत क्षति पु¥याएको छ । सडक अवरुद्ध भएपछि मुस्ताङ भ्रमण, मुक्तिनाथ दर्शनमा आउने÷जाने भक्तजन तथा पर्यटक समस्यामा परेका छन् ।

कैलालीमा भीषण हावाहुरी, घर भत्किँदा एक जनाको मृत्यु
निरन्तरको मौसम बदलीले कैलालीमा पनि धनजनको क्षति गरेको छ । आईतबार राती मच्चिएको भीषण हावाहुरीले घर भत्काउँदा च्यापिएर एक महिलाको मृत्यु भएको छ । 

जिल्लाको गौरीगंगा नगरपालिका–१ माघीगाउँकी ५६ वर्षीया चारुमती बूढाको इँटाको गारो र छाना भएको घरको बल्ली खस्दा च्यापिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय चौमालाका प्रहरी सहायक निरीक्षक मदनराज जोशीले बताए।

सोही ठाउँमा हावाहुरीसँग घर र गोठमा लागेको आगोमा जलेर एक व्यक्तिले पालेको राँगो मरेको छ। झन्डै आधा घन्टा तीव्रबेगको हावाहुरीले कैलाली जिल्लामा कैयौँ घरका जस्तापाता र टायलका छाना उडाएर क्षति पुगेको छ । 

बिजुलीका पोल ढलेको र तार चुँडिएपछि विद्युत् आपूर्तिसमेत बन्द छ । अधिकांश ठाउँमा मोबाइल र ल्याण्डलाइन टेलिफोन सेवा पनि अवरुद्ध छ । 
ठाउँठाउँमा रुख ढलेपछि केही ठाउँको सडकमा यातायात आवागमन पनि अवरुद्ध भएकाले क्षतिको पूर्ण विवरण आउन अझै बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?