सेरा लिओनमा तीनदिने राष्ट्रिय शोक घोषणा

लोकपथ
483
Shares

काठमाडौं । सेरा लिओनमा तीनदिने राष्ट्रिय शोक घोषणा गरिएको छ । राष्ट्रपति जुलिउस माडा बायोले तीनदिने शोकको घोषणा गरेका हुन् । यही सोमबार, मंगलबार र बुधबार देशभरि शोक मनाइने भएको छ ।

गत शनिबार इन्धन बोकेको ट्याङ्कर दुर्घटना हुँदा १०८ जनाको मृत्यु भएकाले राष्ट्रिय शोक मनाइने भएको हो । शोकको बेलामा कुनै औपचारिक र रमाइला कार्यक्रमहरु नगरिने अधिकारीहरुले जनाएका छन् ।

राष्ट्रपति बायोले अस्पतालमा उपचार गराइरहेका घाइतेहरुलाई समेत भेटेर उपचारको अवस्थाका बारेमा जानकारी लिएका छन् । अस्पतालमा उपचार भइरहेका मध्ये अधिकांशको शरिरका धेरै भाग जलेका छन् । उनले घटनाका बारेमा निश्पक्ष छानविन गरी दोषीलाई कारबाही गर्ने प्रतिबद्धता समेत जनाएका राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

“हामीले यो दुर्भाग्यपूर्ण घटनाबाट सिक्नु पर्दछ, आगामी दिनमा यस्तो घटना हुन नदिनका लागि अपनाउनुपर्ने उपायहरु अपनाउनु पर्दछ,” उनले भने ।

अर्को एउटा सवारी साधनसँग ट्याङ्कर ठोक्किएपछि आगलागी भएको र ठूलो मानवीय क्षति भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । घाइते र मृतकमध्ये धेरै दुर्घटनाका बेला घटनास्थलमा रहेका मोटरसाइकल चालक, पैदलयात्री, सडकका व्यापारीलगायत रहेको पनि उनीहरुले जनाएका छन् ।

शनिबार बिहान किनबेचका लागि सयौँ मानिसको भिड सडकमा लागेको बेला दुर्घटना भएकाले धेरै मानवीय क्षति भएको जनाइएको छ । घाइतेहरुमध्ये धेरैको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या अझै बढ्न सक्ने स्थानीय अधिकारीहरुले अनुमान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?