काठमाडौं- भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा ‘ड्रेस’ छिनछिनमा फेरियो । भारतीय प्रधानमन्त्री जनकपुर आइपुग्नुअगावै प्रधानमन्त्री केपी शर्मा ओली कुर्ता, पाइजामा र गम्छामा जनकपुर पुगे ।
नेपाली सेनाको हेलिकोप्टरमा जनकपुर पुगेका ओलीले लगाएको कुर्ता, पाइजामा र मोदी जनकपुर उत्रिँदा लगाएको कुर्ता र पाइजामा ठ्याक्कै उस्तै थियो । रङ पनि उस्तै उस्तै । मोदीलाई विमानस्थलमा स्वागत गरेका रक्षामन्त्री ईश्वर पोखरेल भने औपचारिक पोसाक दौरा सुरुवाल र कोटमा थिए ।
भारतको पटनाबाट हेलिकोप्टरमा जनकपुर आउने हल्ला भए पनि मोदी भारतीय वायुसेवाको एटीआर विमानबाट जनकपुर उत्रिए । राजधानी दैनिकमा खबर छ |
मोदी विमानस्थलबाट सिधै जनकपुरस्थित जानकी मन्दिरमा पूजाआजाका लागि पुगेका थिए । उनको ड्रेस र प्रधानमन्त्री ओलीको ड्रेस उस्तै थियो । पूजाका लागि जानकी मन्दिर व्यवस्थापन समितिले दुवै प्रधानमन्त्रीलाई पूजाका लागि उस्तै ड्रेसको व्यवस्था गरेको थियो । दुवै प्रधानमन्त्रीले एकैखाले पहिरनमा जानकी मन्दिरमा पूजाआजा गरे ।
प्रधानमन्त्री ओलीले जानकी मन्दिरको पूजाआजा गरिसकेपछि मात्रै मोदी जानकी मन्दिर परिसरमा पुगेका थिए । ओलीले मोदीलाई जानकी मन्दिरमा स्वागत गरेपछि पूजा गर्न प्रवेश गरे ।
मन्दिरमा पूजा गर्न लगाएकै ड्रेसमा जानकी मन्दिरबाट बस सेवा शुभारम्भ गरेपछि मोदी बाह्रबिघा मैदानमा जनकपुर उपमहानगरपालिकाले गरेको अभिनन्दन समारोहमा पुग्दा भने उनले भारतबाट आउँदाको ड्रेस नै लगाएका थिए ।
जनकपुरबाट काठमाडौं विमानस्थल उत्रिएपछि हयात होटलमा पुगेका मोदीले अपराह्न सैनिक मञ्च टुँडिखेलमा गार्ड अफ अनरका लागि पुग्दा पहिरन परिवर्तन गरेका थिए ।
उनले सेतो रङको कुर्ता, पाइजामा र ‘मोदी कोट’ लगाएका थिए । प्रधानमन्त्री ओलीले दौरा, सुरुवाल र कोट लगाएका थिए । सैनिक मञ्चबाट उपराष्ट्रपतिसँगको भेटमा पुग्दा पनि मोदीले सोही ड्रेस लगाएका थिए ।
उपराष्ट्रपति नन्दबहादुर पुनसँगको द्विपक्षीय भेटवार्तापछि उनी सिधै राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ताका लागि शीतल निवास पुगे ।
मोदीले राष्ट्रपतिसँगको शिष्टाचार भेटपछि भने प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटका क्रममा होटल द्वारिकाजमा कालो रंगको कोट परिवर्तन गरी फिक्का खैरो–नीलो कोट लगाएका थिए । प्रधानमन्त्री ओलीले भने सैनिक मञ्चमा लगाएको कालो कोटको ठाउँमा गाढा निलो कोट लगाएका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया