काठमाडौं भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको पहिलो राजकीय भ्रमणका क्रममा पटनाबाट शुक्रबार १०ः३६ बजे जनकपुर विमानस्थल ओर्लेका थिए ।
जनकपुर विमानस्थलमा अवतरण गरेका मोदिलाई स्वागत गर्न रक्षामन्त्री ईश्वर पोखरेल, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, मन्त्री, जनकपुरका मेयर लगायतले स्वागत गरी जनकपुरको विद्यापति चोक, जिरोमाइल चोक र रामानन्द चोक हुँदै जानकी मन्दिरमा पुगे ।

भारतिय समकक्षी नरेन्द्र मोदिलाई प्रधानमन्त्री केपी शर्मा ओलीले जानकीमन्दिर परिसरमा स्वागत गरी जानकीमन्दिरमा विशेष पुजाअर्चना गरी हरियो झण्डा फहराउँदै अयोध्या जनकपुर सिधा बस सेवाको शुभारम्भ गरे । बस सेवा सञ्चालनबाट दुई देश र जनताबीचको सम्वन्ध प्रगाढ हुने उनको विश्वास छ । पर्यटन विकास र प्रवद्र्धनको लागि रामायण सर्किटबारे बताउँदै भारतिय प्रधानमन्त्री मोदीले भने, “करोडौं पर्यटक भित्राउने विषयमा छलफल हुनेछ ।”
मन्दिर परिषरबाट दुबै प्रधानमन्त्रीले संक्षिप्त सम्बोधन सकेर प्रधानमन्त्री मोदी जनकपुरस्थित नागरिक अभिनन्दन स्थल बाह्रविघामा पुगेका थिए । जहाँ उनको सम्मानमा हजारौँ जनता उपस्थित भएका थिए । रक्षामन्त्री ईश्वर पोखरेल, भौतिक योजना तथा यातायात मन्त्री रघुवीर महासेठ, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, राजेन्द्र महतो, काँग्रेसका उपसभापति विमलेन्द्र निधि लगायतका नेताहरुले नागरिक अभिनन्दनका लागि मञ्चमा मोदीको भव्य स्वागत गरेका थिए । त्यस्तै उनको सम्मानमा मैथीली भाषाको गीतबाट स्वागत गरिएको थियो ।

जनकपुरको रंगभूमि मैदानमा आयोजित कार्यक्रममा जनकपुर उपमहानगरपालिकका मेयर लालकिशोर साहले मोदीलाई अभिनन्दन गरे । अभिनन्दन ग्रहण गर्दै प्रधानमन्त्री मोदीले नेपाल भारतको सम्बन्ध सदियौंदेखि चलिरहेको उल्लेख गरेका छन् । जनकपुर र अयोध्याबीचको सम्बन्ध त्रेता युगमा रामसीताको विवाहसँगै शुरू भएको उल्लेख गर्दै प्रधानमन्त्री मोदीले नेपाल बिना भारत अधुरो भएको बताए । उनले नेपाल भारत लुम्बिनी, विराटनगरको सम्बन्ध रामायणकालीन महाभारतकालीन र बुद्धकालीन समयमा बाँधिएको बताए । उनले भने “सीता बिना भारतको कुनै धाम होइन राम नै अधुरो हुन्छन् ।”

मैथिली र नेपालीमा सम्बोधनको शुरूवात गरेका मोदीले नेपाल भारतको दृष्टि र सृष्टि दुबै समान रहेको बताए । उनले थपे, “हामी आस्था, आफ्नोपन, रोटी र बेटीको भाषाबाट बाँधिएका छौँ ।”
बाह्रविगाहामा आयोजित नागरिक अभिनन्दन समारोहमा लाल किशोर साहले मोदीको सम्मानमा नागरिक अभिनन्दन पत्र पढेका थिए । प्रदेश सरकार, उद्योग वाणिज्य संघ बीरगञ्ज, उद्योग वाणिज्यसंघ जनकपुरका तर्फबाट १ सय २१ किलोको फुलको मालाबाट स्वागत गरिएको समारोहका बिच नगरको साँचो प्रधानमन्त्री मोदी लाई बुझाईएको थियो ।
जनकपुरमा आयोजित नागरिक अभिनन्द समारोहमा सरिक भएसँगै उच्च सुरक्षा व्यवस्थाका बिच मोदी एअर एसियाको विशेष विमानबाट काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरे । जनकपुरबाट काठमाडौं आएका मोदीलाई त्रिभुवन विमानस्थलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले स्वागत गरे ।
मोदी हायात होटलमा बस्ने बन्दोबस्ती मिलाईएको छ । साथै, सैनिक मञ्च टुँडिखेलमा गार्ड अफ अनर प्रदान गरिने तथा आजै राष्ट्रपति र उपराष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।

नेपाली समकक्षी केपी शर्मा ओलीसँग साँझ द्वारिकाज होटलमा भेटवार्ता गर्नेछन् । भेट लगतै दुई प्रधानमन्त्री मोदी र ओलीले अरुण तेस्रोका स्वीच थिचेर उद्घाटन गर्नेछन् । नेपाल भ्रमणमा रहेका भारतिय प्रधानमन्त्री नरेन्द्र मोदि भोली मुक्तिनाथ जाने छन् । मुक्तिनाथबाट काठमाडौ फर्केपछि शनिबार दिउँसो ४ बजे स्वदेश फर्किने कार्यक्रम तय गरिएको छ ।



फोटो स्रोतः रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया