मोदी केही बेरमै जनकपुर ओर्लदै

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको तेस्रो भ्रमण शुक्रबार  जनकपुरबाट शुरू गरिरहेका छन् । परराष्ट्रमन्त्रालयले जनाए अनुसार मोदीको यो पहिलो राजकीय भ्रमण हो ।  पहिलो २ दिने नेपालको राजकीय भ्रमण प्रदेश नम्बर २को राजधानी जनकपुरबाट मोदीले गर्ने निर्णय गरेपछि प्रदेश २ सरकारले सार्वजनिक बिदाको घोषणा गरेको छ ।

जनकपुरमा आयोजित नागरिक अभिनन्द समारोहमा सरिक भएपछि मोदी काठमाडौं हुँदै मुक्तिनाथ जाने छन् । मुक्तिनाथबाट काठमाडौ फर्केपछि मोदी शनिबार दिउँसो ४ बजे स्वदेश फर्किने कार्यक्रम  तय गरिएको छ ।

जनकपुरका लागि मोदी पटना आउने र त्यहाँबाट भारतीय वायुसेनाका हेलिकोप्टरबाट सीधै जनकपुर विमानस्थलमा करिब सवा १० बजे अवतरण गर्ने कार्यक्रम छ । उनलाई रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विमानस्थलमा स्वागत गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री मोदी जनकपुर विमानस्थलबाट विद्यापति चोक, जिरोमाइल चोक र रामानन्द चोक हुँदै जानकी मन्दिरमा पुग्नेछन् । जानकी मन्दिरमा  प्रधानमन्त्री केपी शर्मा ओलीले मोदीलाई स्वागत गर्नेछन् ।

जानकी मन्दिरमा शंखध्वनिका साथ मोदीको भव्य स्वागत हुनेछ । त्यसपछि दुवैले जानकी मन्दिरमा संयुक्तरुपमा पूजा गर्ने र त्यसपछि  पत्रकारहरुसँग साक्षात्कारको तय गरिएको छ ।

जानकी मन्दिर क्षेत्रमा ४५ मिनेट जतिको समय बिताउने मोदी र ओलीले जनकपुरबाट अयोध्या चल्ने  बससेवाको शुभारम्भ गर्ने कार्यक्रम छ । 

जानकी मन्दिरको कार्यक्रम पछि त्यहाँबाट करिब तीनसय पाइला पूर्व तिर पर्ने  बाह्रबिघा रंगभूमि मैदानमा आयोजन गरिएको  नागरिक अभिनन्दन समारोहमा मोदी सहभागी भइ नागरिक अभिनन्द ग्रहण गर्ने छन् । मोदीलाई जनकपुरधाम उपमहानगरपालिका प्रमुख लालकिशोर साहले नगरको कलात्मक साँचो हस्तान्तरण र नागरिक अभिनन्दन गर्ने छन्  ।

मोदीको स्वागतमा जनकपुरलाई विशेषरुपले सिंगारिएको छ । सडकलाई कालोपत्रे गरिएको छ भने विभिन्न स्थानमा मोदीको फोटोसहितका स्वागतद्वार बनाइएका छन् । केही दिन अघि आएको हावाहुरीमा भत्किएका स्वागत द्वारको पुनः निर्माण गरिएको छ । जानकी मन्दिरदेखि बाह्रबिघासम्मको सडकको दुवैतर्फको पर्खालमा रामायणकालीन दृश्यलाई चित्र बनाइ कलात्मक प्रदर्शन गरिएको छ ।

प्रदेश २ सरकारले मोदीको नागरिक अभिनन्दन कार्यक्रममा विभिन्न जिल्लाहरूबाट समारोहमा सहभागी गराउन मातहतका स्थानीय तहलाई निर्देशन दिएको छ ।

मोदीको आगमनलाई ध्यानदिँदै जनकपुरको सुरक्षा व्यवस्था कडा पारिएको छ । मोदीले पूजा गर्ने जानकी मन्दिरमा बिहीबार दिउँसोदेखि नै सर्वसाधारणको प्रवेश रोक लगाइएको थियो । सडकमा मास्क लगाएर हिँड्न रोक आदेश दिइएको छ । ठाउँ–ठाउँमा बाक्लो संख्यामा सुरक्षाकर्मीहरुको उपस्थिति छ ।  मोदीको सुरक्षाका लागि करिब १० हजार प्रहरी परिचालन गरिएको छ ।

जानकी मन्दिर र बाह्रबिघाका ठाउँ–ठाउँमा सीसीटिभी क्यामरा जडान गरिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली जनकपुर पुग्न लागेका छन् । 

फोटोः सत्य प्रकाश यादव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?