खराब प्रहरीलाई समात्न प्रहरीले थाल्यो हटलाइन सेवा

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले प्रहरी कर्मचारीको आचरण र व्यवहारमा सुधार ल्याउन ‘हटलाइन’ टेलिफोन र एसएमएस सेवाको व्यवस्था गरेको छ । 

प्रहरी कर्मचारीसँग सम्बन्धित गुनासो, उजुरी तथा सुझावहरु सर्वसाधरणले चिठी पत्रका अतिरिक्त सिधै टेलिफोन एवं एसएमएसबाट पठाउन सक्ने ब्यवस्था गरिएको केन्द्रीय प्रहरी प्रवक्ता मनोज न्यौपानेले बताए ।

यो हटलाइन सेवाबाट स्थानीय प्रहरी र सर्वसाधारण नागरिकबीचको सम्वन्धलाई प्रभावकारी बनाइ अपराध नियन्त्रण गर्न थप सहयोग पुग्ने अपेक्षा गरिएको उहाँले प्रष्ट पार्नुभयो । प्रहरी प्रधान कार्यालयको टेलिफोन नम्वर ०१–४४१०१४४ वा १११३ मा सम्पर्क गर्न सकिने छ । 

प्रहरी सेवा प्राप्त भए/नभएको, सर्वसाधारणका समस्या र गुनासोप्रति प्रहरी कर्मचारी उदासिन तथा वफादार नदेखिए, जाहेरी दरखास्त तथा उजुरी लिन नमानेमा, विभिन्न प्रलोभनमा परि झुट्टा उजुरी दर्ता गरी दुःख दिएमा सिधै उजुरी गर्न सकिने व्यवस्था गरिएको छ । 

त्यस्तै, प्रहरी कर्मचारीले व्यावसायिक आचरण तथा ब्यवहार नदेखाएमा, कुनै व्यक्तिलाई कानुन विपरित थुनामा राखेमा, आर्थिक लाभ लिन खोजेमा, वर्दीको दुरुपयोग गरी अनावश्यक दुख दिने र दबाब दिने कार्य गरेमा ‘उजुरी’ दिने सकिने प्रधान कार्यालयले जनाएको छ ।

यसरी, प्रहरी कर्मचारीको आचरण तथा पेशागत कामकारवाहीका सम्बन्धमा आउने उजुरीको तत्काल सुनुवाई गरी कार्यान्वयन भएको जवाफ समेत उपलब्ध गराइने ब्यवस्था गरेको छ । प्रहरी महानिरीक्षकको सचिवालयबाट नै यस किसिमको ब्यवस्था गरिएको हो ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले खराब आचरण भएका प्रहरी कर्मचारीको ब्यवहार र आचरणमा परिवर्तन ल्याउन यस किसिमको कार्यक्रम सञ्चालन गर्नु भएको हो । हटलाइन सेवाबाट देशभरका सर्वसाधारणले उजुरी गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?