महासंघका पदाधिकारीमाथि अत्यावश्यक सेवा सञ्चालन ऐन अन्तरगत कानुनी कारवाहीको तयारी

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले शनिवार राति नयाँबानेश्वरबाट पक्राउ परेका नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका पदाधिकारीमाथि अत्यावश्यक सेवा सञ्चालन ऐन–२०१४ अनुसार आवश्यक कारवाहीको तयारी गरेको छ । 

परिसरका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहन थापाले महासंघका अध्यक्ष योगेन्द्रमान कर्मचार्यदेखि सदस्य किरण खड्कासम्मका अभियुक्तहरुमाथि अत्यावश्यक सेवा सञ्चालनमा अवरोध गरेको कसुर अनुसार मुद्धा चलाउने तयारी गरेको बताए । 

सार्वजनिक यातायात सेवाको क्षेत्रमा एकाधिकार (सिण्डिकेट) जमाउदै आएका ब्यवसायीहरुलाई सरकारले कानुनी प्रक्रियामा ल्याउन खोज्दा उल्टै आन्दोलनमा उत्रेका हुन । हवाई तथा स्थल लगायत कुनै पनि अत्यावश्यक सेवा सञ्चालनमा बाधा पु¥याउने ब्यक्तिलाई एक वर्ष जेल सजाय हुने कानुनी ब्यवस्था रहेको छ । 

‘सिण्डिकेट’ खारेजीका विरुद्ध चरणबद्ध आन्दोलन गर्ने क्रममा शनिवार राति महासंघका अध्यक्ष कर्माचार्य, बरिष्ठ उपाध्यक्ष विजय स्वार, कोषाध्यक्ष बसन्त भण्डारी, सदस्यहरु धर्म धिमाल र किरण खड्का पक्राउ परेका थिए । 

महासचिव सरोज सिटौला भने गत शुक्रवार नै पक्राउ परेका हुन । पक्राउ परेका महासंघका सबै पदाधिकारीलाई टेकुस्थित परिसरमा उपस्थित गराइएको छ । तर, कतिपय प्रदेशका यातायात ब्यवसायीहरुले ‘सिण्डिकेट’ हटाउने सहमति जनाएपछि प्रहरीले छोडि दिएको छ । 

सरकार झन कडा बन्दै 
गृह मन्त्री रामबहादुर थापा ‘बादल’ र भौतिक योजना तथा यातायात मन्त्री रघुवीर महासेठले यातायात ब्यवसायीहरुको दादागिरी नियन्त्रण गर्न ‘सिण्डिकेट’ अन्त्य जरुरी रहेको बताएका छन । 

गृह मन्त्री थापाको सचिवालयका अनुसार, आज पनि ‘सिण्डिकेट’ खारेजीको विरोध गर्ने यातायात ब्यवसायीहरुलाई तत्काल नियन्त्रणमा लिइ कानुनी कारवाही गर्न निर्देशन दिएका छन । यातायात मन्त्री महासेठले पनि राजधानीमा आयोजित एक सार्वजनिक कार्यक्रममा सिण्डिकेट हटाएर छोड्ने प्रतिवद्धता ब्यक्त गरेका छन । '

सिण्डिकेट विरुद्ध सहयोग गरेमात्र रिहाइ
यसैबीच, काठमाडौं प्रहरी परिसरका प्रमुख विश्वराज पोखरेलले यातायात ब्यवसायीहरुले आन्दोलन फिर्ता लिई सिण्डिकेट खारेजीमा सहयोग गरेको खण्डमा आजै रिहाइ गरि दिने संकेत देखाएका छन । तर, महासंघका बरिष्ठ उपाध्यक्ष स्वारले भने सिण्डिकेट खारेजीमा सहमत जनाउन आत्मघाती निर्णय भएकाले आफुहरु ब्यवसाय नै छोड्न तयार भएको प्रतिक्रिया दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?