मृत्युदण्ड सुनाईएका यादवको जीवन रक्षार्थ ‘सहमतिपत्र’, साउदी अदालतमा पुर्याउन सरकारसमक्ष माग

काठमाडौं । विगत १२ वर्षदेखि साउदी जेलमा रहेका धनुषा जिल्ला कमला नगरपालिका माची झिट्कैयाँ वडा नम्बर ४ का उमेश यादवलाई त्यहाँको अदालतले मृत्युदण्ड सुनाएको छ । 
राजधानीमा समाजसेवी सरोज रायले पत्रकार सम्मेलन गरेर विगत १२ वर्षदेखि साउदी अरेबियाको जुबेल जेलमा रहेका ३८ वर्षीया यादवको जीवन बचाउनको लागि ब्लडमनिको आवश्यक रहेको बताएका छन् ।  

उनले भने,‘राज्यको दुतावासले गर्नुपर्ने काम गरेको छैन्, रोजगारमा गएका नेपाली यूवाहरुको अभिभावकका रुपमा रहेको दुतावास आफ्ना नागरिकहरुको बारेमा बेखबर बन्छ, उमेश जेलमा परेको १२ वर्ष भैसक्यो, साउदीस्थित् नेपाली दुतावासले उच्च प्राथमिकताका साथ हेरिरहेको बताउँछ, त्यो कस्तो उच्च प्रथामिकता हो हामीले बुझ्न सकेका छैनौं ? पीडित र दोषीको बीचमा उत्पन्न भएको समस्या समाधान गर्न नसक्ने ? यस्तो पनि हुन्छ ?’

सन् २००७ मा पाकिस्तानी नागरिक मोहम्मद लतिफ बसिर र उमेश यादवबीच सामान्य विवाद हुँदा बसिरको मृत्यु हुनपुगेको रायले जानकारी दिँदै भने,‘उमेश यादवले बसिरलाई मार्नकै लागि हिर्काएका थिएनन्, अहिलेपनि उनले अदालतसामु यही बयान दिईरहेका छन्, पीडित यादवको पक्षमा वकालत गर्नको लागि नेपालको तर्फबाट अहिलेसम्म अधिवक्ता पनि छैनन्, दुतावासले आफ्नो देशको नागरिकको बचाउनको लागि केही प्रबन्ध गर्नुपर्ने हो, तर गरेन, यो अत्यन्तै दुःखलाग्दो कुरा छ, यादवको परिवारले आफ्नो छोरामाथि झुठो आरोप लगाएको दाबी गरेको छ।’

उनले भने,‘साउदी अदालतमा मृत्युदण्ड घोषणा गरिएका उमेश यादवको बारेमा केही समय अघि साउदीस्थित् नेपाली दुतावासले निकालेको विज्ञप्तीमा उनको लागि ब्लडमनीको बारेमा कुनै कुरा उल्लेख नगरि त्यहाँको अदालतले मृत्युदण्ड दिने फैसलाको बारेमा मात्रै बोलेको छ, त्यो दोधारे कुरा हो, आरोप लागेका यादवको परिवारले ब्लडमनि प्राप्त गरे माफी दिने सहमति गरिसकेका छन्, उनलाई बचाउन सकिन्छ, कोही दोधार नबन्नुहोस् ।’

सरोज रायले उमेश यादवको जीवन रक्षाको लागि मृत्तक पाकिस्तानी नागरिक बसिरको घरमा पुगेर आफ्नो पहलमा मृत्तकको आफन्तलाई भेटेर माफीनामाको लागि ब्लडमनी तिर्ने सहमति भएको जनाए । रायका अनुसार मृत्तकका परिवार र यादवको तर्फबाट अख्तियारीनामा प्राप्त रायवीच सन् २०१८ अप्रिल २६ मा सहमति पत्रमा हस्ताक्षर भएको थियो ।

उनले भने,‘मैले नेपालबाट पाकिस्तान जानु अघि नै मृत्तक बसिरको परिवारसँग कुराकानी गरेको थिएँ, पाकिस्तान पुगेर मृत्तकको परिवारसँगै त्यहीँको वकिल राखेर सहमति गरेका थियौं ।’ सहमति अनुसार यादवको परिवारले मृत्तकको परिवारलाई सहमति गरेको दिनदेखि ४५ दिनभित्रै पाकिस्तानी रकम ३० लाख दिनुपर्नेछ । 

उमेश यादव बचाउ अभियानका पहलकर्ता रायले बसिरको परिवारसँग भएको सहमति अनुसार चाँडो भन्दा चाँडो पैसा बुझाउनुपर्ने भएकोले आफूहरुले सार्वजनिक गरेको बैंक खातमा रकम जम्मा गर्न सहयोगी हातहरुलाई विशेष अनुरोध गरे । उनले थपे,‘अहिलेसम्म २ लाख नेपाली रुपैयाँ संकलित भएको छ, हामीले केही समय खातामा पैसा नहाल्नको लागि अनुरोध गरेका थियौं, किनकी सरकारले नै ब्लडमनीको लागि संकलित रकमबारे केही समय अघि प्रेस विज्ञप्ती जारी गरेको थियो, अहिले त्यो सम्बन्धमा सबै कुरा स्पष्ट भैसक्यो, अब सहयोगी हातहरु अघि बढाउँदा हुन्छ।’ 
साउदीको हकमा कुनै मानिसले मृत्युदण्ड सजाय पाएको अवस्थामा त्यहाँको कानून अनुसार तीन प्रकारले माफी दिने कानून रहेको रायको भनाई थियो । उनले भने,‘उमेशको हकमापनि मैले उनको जीवन रक्षाको लागि त्यही कानूनलाई टेकेर बचाउ अभियानमा लागेको हुँ।’ 

साउदीमा मृत्युडण्डको सजाय पाएको व्यक्तिको हकमा मृत्युदण्ड दिने, अल्लाहको नाममा माफि दिने, ब्लडमनि दिएर माफी दिने गरि तीन वटा विकल्प रहेको पनि उनले सुनाए । रायले थपे,‘त्यहाँको अदालतले यहाँभन्दा पहिले ११ वर्षे जेल सजाय, ११ सया कोर्रा र अन्तिम देश निकाला गर्ने ऐन थियो, तर उमेशले १२ वर्ष जेल सजाए भोगेपनि साउदी सरकारी वकिलले फेरी उक्त मुद्धालाई उल्ट्याउँदै उमेशलाई मृत्युदण्ड सुनाएको छ ।’

पाकिस्तानमा परिवासँगको सहमतिमा बनेको माफीपत्र साउदी अदालतसम्म पुर्याउनको लागि नेपाली दुतावास साउदीलाई प्रभावकारी रुपमा काम गर्नको लागि समाजसेवी रायले आग्रह गरेका छन् ।  

उनका अनुसार १५ अप्रिल सन् २०१८ मै उमेश यादवलाई मृत्युदण्ड सुनाईएको थियो । ३० दिनभित्र पुनरावेदन गर्ने अधिकार साउदी अदालतले दिएको थियो । नेपाली दुतावास साउदीले २६ अप्रिलमा पुरानवेदन गरिसकेको सरोज रायले बताए । 

यद्धपी रायले यो बीचमा साउदीमा अवस्थित् नेपाली दुतावासले जारी गरेको विज्ञप्तीले आफूहरुलाई काम गर्नको लागि असहज पैदा भएको गुनासो पोखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?