अस्ट्रेलियामा तीन वर्षमा १ सय ६ नेपाली जोडीको डिभोर्स

अस्ट्रेलिया  – झापाका रमेश (नाम परिवर्तन) ले सन् २०१४ मा काठमाडौंकी एक युवतीसँग नक्कली विवाह गरी सिड्नी आए । आएदेखि नै अलग बसेका उनीहरूबीच पैसाको लेनदेन विषयमा विवाद भएपछि युवतीले सम्बन्धविच्छेद (डिभोर्स) का लागि आवेदन दिइन् । युवतीले आफूलाई छाड्न लागेको थाहा पाएका उनले आफूले काम गर्ने स्थानमा अनुरोध गरी स्पोन्सरसिप लिए र नेपाल फर्किनबाट बचे।

वर्ष दिनअघि मात्र नक्कली विवाह गरी सिड्नीको एक युनिभर्सिटीमा अध्ययन गर्न आएका ललितपुर र चितवनका एक जोडीबीच पैसाकै मामिलामा खटपट पर्‍यो । पैसाको छलफलबाहेक अन्य कुनै पनि विषयमा कुराकानी नहुने उनीहरूबीच कुरा नमिलेपछि युवती डिभोर्सका लागि सहयोग खोज्दै वकिलकोमा पुगिन् । युवा भने विद्यार्थी भिसाको आवेदन दिने तयारी गरिरहेका छन् ।

माथि उल्लिखित दुई प्रतिनिधि घटना नक्कली विवाह गरी अस्ट्रेलिया आउने र यहाँ आएपछि समस्यामा पर्ने यी नेपाली जोडीहरूको हो । नेपालबाट विद्यार्थी भिसामा आउने मुख्य आवेदक (विद्यार्थी) लाई निश्चित रकम तिर्ने सर्तमा विवाह गरी आउने र सम्झौतामा समस्या आएपछि उपाय खोज्न माइग्रेसन एजेन्ट वा वकिलकोमा जाने चलन बढदै गएको छ ।

कागजी रूपमा विवाह सक्कली देखिए पनि उनीहरूले नक्कली नियतका साथ अस्ट्रेलिया भित्रिने गरेका हुन् । यहाँ आएर उनीहरू समस्यामा पर्ने गरेका छन् । अस्ट्रेलिया अध्यागमनलाई सक्कली कागजपत्र देखाएर आउने गरे पनि आपसी मनमुटावपछि उनीहरूको नक्कली सम्बन्ध डिभोर्समा पुगेर टुंगिने गरेको छ ।

करिब ३ वर्षदेखि अस्ट्रेलियामा ‘फ्यामिली ल’ सम्बन्धी वकालत गर्दै आएका सुमन भेटवालले अहिलेसम्म १ सय ६ नेपाली जोडीको डिभोर्सको मुद्दा हेरेका छन्। जसमध्ये ७० प्रतिशत बढी यस्तै प्रकृतिका रहेको उनले सुनाए। कान्तिपुर दैनिकमा समाचार छापिएको छ |

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?