काठमाडौं । केही यात्रु प्रतीक्षालयमै सुतेका छन् । केही यात्रु झोला वरिपरि बसेका छन् । उनीहरु सबैलाई एउटै कुराको पिरलो छ – गाडी कति बजेबाट गुड्न थाल्लान्?
काठमाडौंको गोंगबु बसपार्कमा बिहानैदेखि बस कुर्नेको यात्रुको लामो लस्कर छ । कोही खाना खाएर बस जान्छ कि भनेर बिहानैदेखि कुरेर बसेका छन् । कोही बिहानैदेखि बसपार्कमै यताउता गरिरहेका छन् टिकट काट्न । तर, बसपार्क रित्तो छ । गाडी छैनन् ।
यातायात व्यावसायीले सिन्डिकेटको विरोधमा गरेको बन्दले यात्रुलाई सास्ती दिएको छ । भारतले गरेको नाकाबन्दीकै झल्को दिने गरी यात्रुले गरेको ‘सिन्डिकेट’ लाद्न पाउनुपर्ने मागको बन्दले काठमाडौंबाट बाहिर जाने यात्रुलाई समस्या पारेको छ भने काठमाडौंभित्रै यातायात गर्ने यात्रुलाई पनि धूलो खाँदै सडक छेउमा उभिएर फाटफुट आउने सार्वजनिक बसको पर्खाइमा उभिएका थिए ।
हातमा टिकट काटेर बसेका नेपालगञ्ज जान गाडीको पर्खाइमा बसेका सुर्खेतका शिवबहादुर बुढा बसपार्कमा बसिरहेका थिए । बिहान आठ बजेदेखि सुर्खेत जाने गाडी कुरेर बसेका उनी साँझ चार बजेपछिको टिकट त पाए तर बस जाला कि भन्नेमा अझै अन्यौल भएको उनले बताए । ‘नशाको बिमारीले गर्दा काठमाडौं जाँच गर्न आएको थिएँ, काम सकियो, बन्दको हल्ला त हिजैदेखि सुनिएको थियो तर बन्द नै होला भन्ने लागेको थिएन’, उनले भने, ‘काठमाडौंमा बसौं भने पनि कोही छैन, नेपालगञ्जको भएपनि टिकट पाइयो, त्यहीँसम्म जानुपर्ला ।’
बसपार्कमा बस कुरिरहेका उनलाई सिन्डिकेटका बारेमा भने केही थाहा नभएको बताए ।
बसपार्कमा बिहान १० बजेदेखि बसिरहेकी रोल्पाकी कल्पना घर्ती भने बन्द छ भन्ने थाहा हुँदाहुँदै पनि बसपार्कमा गाडी पाइन्छ कि भन्ने आशाले बसपार्कमा आएको बताउँदै थिइन् । घरमा छिटो जानैपर्ने काम भएपछि उनी बिहानै बसपार्क आएको बताइन् । ‘सरकारी गाडी जाँदैनन् भन्ने त सुनेकी हुँ, निजी गाडी जान्छन् भन्ने सुनेर आएँ, तर बस नै गुडेनन् यहाँबाट’, ६१ वर्षीया रोल्पा सिउरीशेरमकी उनले अनविज्ञता प्रकट गर्दै भनिन्, ‘चार बजे जान्छ भनेर टिकट काटेकी छु, टिकट काट्नेले जान्छ भनेका छन् ।’
त्यतिबेला प्रायः काउन्टर बन्द थिए । केही खुलेका काउन्टरले बेलुका जान्छन् भन्दै टिकट कटाउँदै गरेका थिए ।
बर्दिया जान भनेर हिजै टिकट काटेका बर्दियाका रामधनी चौधरी आफ्नी श्रीमतीसँग काठमाडौंमा अलपत्र भएर बसेका छन् । घर बनाउने कामले दोलखा पुगेका चौधरी काठमाडौं आउनासाथ जाममा परे । कमाएको पैसा पनि होटलमै खर्च हुने भएपछि उनलाई बर्दियाको गाडी नपाए पनि दाङसम्मको टिकट काटेर बसेका छन् । ‘पैसा धेरै छैन, यहाँ होटलमा बसेर साध्य भएन, दाङमा बरु आफन्त छन्, फेरि गाडी बन्द भएपनि सजिलै होला भनेर दाङसम्मको टिकट काटेको छु, टिकट काटिएको त छ तर जान्छ कि जान्न भन्ने के थाहा भयो र?’, ‘हिजो चाहिँ रात्री सेवा भएपनि चल्छ भन्ने थियो तर चलेनन्, सबै अलपत्र परे यहाँ ।’
यात्रुले गाडी नपाएर हैरानी त खेपेका थिए तर सिन्डिकेटको विरुद्धमा भने उनीहरुले बोलिरहेका थिए । यातायात व्यावसायीले दिएको सास्तीले उनीहरुले भारतले गरेको नाकाबन्दीको बेला स्मरण गरेको बताउँदै थिए । दाङ जान भनी टिकट काटेका रामधनीले भन्दै थिए । ‘सिन्डिकेट लगाउने, एकजनाले कमाउने र खाने भनेर त कहाँ हुन्छ त? अरुले पनि त काम गर्न पाउनुप–यो नि ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया