विमानस्थलबाट कसरी छिर्छ सुन ?

काठमाडौँ – चूडामणि शर्मा  गोरेको समूहले जुलाई ०१५ अर्थात ०७२ को असार साउनयता खेपखेप गरेर ३७ लाख ९९ हजार ५६५ग्राम अर्थात तीन हजार ७९९ किलो सुन तस्करी गरेको छानबिन समितिले ठहर गरेको आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ  ।
आखिर कसरी भित्रिन्छ यतिधेरै सुन ? पूर्वएआईजी विज्ञानराज शर्मा भन्छन्–त्यहाँ विभिन्न घेरा हुन्छन् । तस्करले पहिलो चरणमा भन्सार कार्यालयका कर्मचारीसँग ‘सेटिङ’ मिलाउँछन् । एयरलाइन्सका कर्मचारीसँग पनि ‘सेटिङ’ हुन्छ । तेस्रो घेरामा मात्र प्रहरीसँग ‘सेटिङ’ हुन्छ । त्यस्तै, अध्यागमनका कर्मचारी र गुप्तचरसँग पनि मिलेमतो हुन्छ ।

विमानस्थलमा खटिएका गुप्तचरसँग भने तस्करको सोझो सम्पर्क हुँदैन । भन्सार र अध्यागमनका कर्मचारीमार्फत गुप्तचरका कर्मचारी सँग मिलेमतो हुन्छ ।
यसरी सबै संयन्त्र कब्जामा लिएपछि तस्करीको योजना सफल हुन्छ । त्यसैले छानबिन सबै संयन्त्रमाथि हुनुपर्ने हो ।
सुन पठाउनुअघि विमानस्थलका सबै संयन्त्रमा मान्छे फिट गरिएका हुन्छन् । सबै मान्छे आ–आफ्नो ठाउँमा रहेको पक्का भएको खबरपछि मात्रै तस्करले जहाजमार्फत सामग्री पठाउँछ । यस क्रममा उसले तस्करीका सामग्री प्याक गरिएको लगेजको फोटो खिच्छ ।
यस्तो फोटो भाइबर, इमो वा फेसबुकमार्फत भन्सार र एयरलाइन्सका कर्मचारीकहाँ आइपुग्छ । एयरलाइन्सका कर्मचारीमार्फत ‘सर्कुलेट’ हुँदै सम्बन्धित जहाजको लोडरसम्म पुग्छ । सोही फोटोका आधारमा तस्करको सामग्री पहिचान हुन्छ ।
लोडरले अन्यसँगै तस्करका सामग्रीलाई गाडीमा लोड गरेर भन्सार चेकजाँच कक्षमा लैजान्छ । सामान्यतः जहाजबाट आएका सम्पूर्ण सामग्री एक्सरे मेसिनमा एक–एक गर्दै चेकजाँच गरिन्छ । तर, तस्करीका सामान सकेसम्म एक्सरे मेसिनमा राखिन्न ।
राखिहाले पनि चेकजाँच गर्नेले नदेखेझैँ गरिदिन्छ । किनकि, त्यो लगेजको फोटो जाँच गर्ने कर्मचारीसम्म पुगिसकेको हुन्छ । तस्करीको सामान सुन हो भने रातारात सीमा कटाइन्छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ  ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?